सौर्य एयरको जहाज दुर्घटना: १८ जनाको मृत्यु ,घाइते क्याप्टेनको अवस्था खतरामुक्त

९ साउन, काठमाडौं ।  आज (बुधबार) बिहान भएको सौर्य एयरको जहाज दुर्घटनामा परेर घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

टाउको, आँखा, अनुहार र ढाडमा लागेको चोटपटकको शल्यक्रिया पश्चात उनको स्वास्थ्य अवस्था तत्कालका लागि खतरामुक्त रहेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको हो ।

अस्पतालकी मेडिकल निर्देशक डा. मीना थापाका अनुसार शरीरका विभिन्न भागमा चोटपटक लागेकाले केही दिन चिकित्सकको निगरानीमा राख्नुपर्ने छ ।

क्याप्टेनको ढाड र मस्तिष्कमा समेत चोटका कारण सुन्निएको छ । थप उपचारका लागि केही समय लाग्ने भएको छ । अहिलेका लागि कम्तीमा ४८ घण्टा न्यूरो आईसीयूमा अब्जर्वेशनमा राख्ने डा. थापाले बताउनुभयो।

टाउको र ढाडको चोटका कारण समेत पछि समस्या देखिन सक्ने भएकाले उहाँलाई अब्र्जबेसनमा राख्न लागिएको अस्पतालले जनाएको हो ।

शरीरका विभिन्न भागमा चोटपटक लागेपनि जलन भने नभएका कारण अवस्था सामान्य रहेको चिकित्सकले बताएका हुन् ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्य १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्र्टमार्टम भइरहेको छ ।

मृतकहरुको पोस्मार्टम आज (बुधबार) साँझदेखि सुरु गरिएको हो । तर, सबै पोस्मार्टमको रिपोर्ट आउन कम्तीमा तीन दिन लाग्ने अस्पतालले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *