आज कोदो दिवस, एक वर्षमा ७५ करोड रुपैयाँभन्दा धेरैको आयात

१५ साउन, काठमाण्डौ  । हरेक वर्ष साउन १५ मा अनौपचारिकरुपमा ‘कोदो दिवस’ मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको थियो । सरकारले साउन १५ लाई आधार मानेर कोदो दिवस मनाउने गरी प्रकृया अगाडि बढाएको कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले औपचारिक घोषणा नगरेको भए पनि नेपालमा विगत चार वर्षदेखि नै स्वतःस्फुर्त रुपमा साउन १५ लाई कोदो दिवसका रुपमा मनाउने गरिएको छ । बहुगुणी कोदोको प्रवर्द्धनमा जोड दिएर आजका दिन विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि अभियन्ताले बताएका छन् । कोदो नेपालको रैथाने बाली हो । यतिबेला कतिपय किसानलाई कोदो रोप्ने चटारो छ । गाउँघरमा अहिले पनि कोदो खेती परम्परागत पद्धतीमै गर्ने गरिएको छ ।

नेपालमा धान, मकै गहुँपछि कोदो चौथो मुख्य बालीका रुपमा रहेको छ । विगतमा कुअन्न भनिएको र गरिबको खान्कीका रूपमा लिने गरिएको कोदो पहिलेदेखि नै हेलामा परेको बाली हो । तर कोदो देशका सबैजसो जिल्लामा खेती हुन्छ ।

क्षेत्रफल घट्दो तर उत्पादन र उपभोग बढ्दो

कोदोजन्य बालीमा कोदो, जुनेलो, चिनो, कागुनो पर्छन् । पश्चिम क्षेत्रमा चिनो, कागुनो उत्पादन हुन्छ । कोदोका मुख्य ६ जात : रातो कोदो, ओख्ले–१, डल्ले–१, काभ्रे कोदो–१, काभ्रे कोदो–२ र सैलुङ्गे कोदो–१ सिफारिस भएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक डा. कृष्णहरि घिमिरे बताउनुहुन्छ ।

रैथाने बाली कोदो खाद्य सुरक्षा र स्वास्थ्यको हिसाबले महत्त्वपूर्ण बाली हो । कोदोको रोटी, ढिँडो, खोले, पुवालगायतका परिकार बनाएर खान सकिन्छ । तर तथ्याङकअनुसार पछिल्ला वर्ष कोदोजन्य बालीको क्षेत्रफल घट्दै गएको छ । आर्थिक वर्ष ०७०/७१ मा झण्डै २ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा कोदो उत्पादन भएपनि अहिले घटेर २ लाख ६५ हजार हेक्टरमा झरेको छ । क्षेत्रफल घटे पनि उत्पादन भने केही बढेको पाइन्छ ।

आर्थिक वर्ष ०७०/७१ मा उत्पादन तीन लाख ४ हजार टन थियो तर अहिलेको उत्पादन झण्डै तीन लाख २५ हजार टन पुगेको छ । कोदो लगाउने क्षेत्रफल घटे पनि उत्पादन र उत्पादकत्व बढ्नुको मुख्य कारण हाइब्रिड जात र मलको उचित प्रयोग रहेको कृषि विज्ञ बताउँछन् । उत्पादनसँगै अहिले कोदो खानुपर्छ भन्ने चेतना बिस्तारै बढ्दै गएको नार्कका वरिष्ठ वैज्ञानिक डा. घिमिरेले बताउनुभयो ।

माग धान्न आयात गर्नुपर्ने बाध्यता

देशभित्र कोदोको उत्पादन पर्याप्त नहुँदा माग धान्नकै लागि आयात गर्नुपर्ने बाध्यता छ । लागत महँगो पर्ने, खेती गर्न झन्झट, बन्यजन्तुबाट उत्पादन जोगाउन नसक्नेलगायतका कारण किसानले कोदो रोप्न छोड्दै गएका हुन् । त्यसमाथी अहिले गाउँघरमा काम गर्न सक्ने युवा जनशक्ति नहुँदा खेतबारी बाँझै हुन थालेको छ । अरु बालीमा जस्तो कोदोमा उन्नत प्रविधिको अभाव छ ।

यस्तै अनेक समस्याले कोदो खेतीमा किसानको आकर्षण बढ्न सकेको छैन । तर शहर बजारमा बस्नेहरुले कोदो खोज्न थालेसँगै पछिल्ला वर्ष माग उच्च छ । बजारमा कतिपय बिक्रेताले ‘यहाँ कोदो/फापरको पिठो पाइन्छ’ भनेर लेखेरै टाँस्ने समेत गरेका छन् ।

कोदोको महत्त्व र फाइदा बुझ्न थालेसँगै उपभोक्ताले पिठोमात्र नभएर यसबाट बनेका परिकार पनि खोज्न थालेका छन् । यसैको कारण बाहिरबाट हुने आयात निक्कै बढेको छ । आर्थिक वर्ष ०७०/७१ मा तीन करोड तीन लाख रुपैयाँको मात्रै कोदो आयात भएको थियो । तर भन्सार विभागको हालै सार्वजनिक तथ्याङक अनुसार झण्डै ७५ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ ।

कोदो प्रवर्द्धनका लागि प्रयास भइरहेको सरकारको दाबी

उन्नत प्रविधि, मलबीउ र किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम र कोदो खेती बिस्तार सरकारको प्राथमिकता नपरेको किसानको गुनासो छ । अहिले आयात उच्च देखिएपनि कोदोलगायत रैथाने बालीको प्रवर्द्धनका लागि सरकारले शुरु गरेका कार्यक्रम र प्रयासबाट सकारात्मक नतिजा देखिन थालेको कृषि मन्त्रालयको दाबी छ ।

मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठकाअनुसार पालिकासँगको समन्वयमा कोदो खेती गर्ने किसानलाई प्रोत्साहन अनुदान पनि दिन थालिएको छ । विगत पाँच वर्षमा झण्डै चार सय पालिकामा कोदो प्रवर्द्धनका लागि एक अर्ब लगानी भएको अवस्था छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *