कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हिउँदमा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाइ छ । सम्मेलनका महत्वपूर्ण कार्यक्रम इलाममा पनि हुने भन्दै उनले इलामको कन्याममा निर्माण भएको चिया टेस्टिङ एन्ड प्रोमोसन सेन्टर नगरलाई हस्तान्तरण गर्ने पनि बताए । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै मन्त्री कार्कीले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पर्यटकलाई सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुआत गरिएको बताउँदै उनले सूर्योदयमा पनि पोस्ट स्थापना गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले सूर्योदय नगरपालिकाले नेपालकै सबै पालिकामध्ये केही विधामा उत्कृष्टता हासिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । प्रदेश सरकार नगरको साथमा सधैं रहने उनको भाइ छ । शिक्षाको क्षेत्रमा पनि नगरले गरेको प्रगति र लगानी राम्रो रहेको उनको भनाइ छ । इलाममा पर्यटन र कृषिको विकासका लागि आवश्यक पर्ने अड्डा स्थापना गर्न उनले माग गरे । प्रदेशसभा सदस्य खिनु लङ्वा, संविधानसभा सदस्य लीलादेवी श्रेष्ठलगायतले त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गरे । नगरपालिकाका मेयर रणबहादुर राईले सुशासन कायम गर्दै विकास निर्माणमा नगरपालिका अगाडि बढिरहेको बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *