झापामा कागतीले बजार पाउन सकेन

१६ साउन, झापा ।   कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, आव २०७७/७८ मा दुई सय चार हेक्टर, आव २०७८/७९ मा तीन सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताए । आव २०७९/८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ ।

उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय आठ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ ।

सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँ गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड २७ लाख २० हजारको आठ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उनले बताए । विगत एक वर्षमा कागतीका चार सय बोट सुकेर मरेको उनको भनाइ छ ।

झापामा कम्तीमा तीन सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् । झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरु स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।

बुद्धशान्ति गाउँपालिका–२ का रामप्रसाद उप्रेतीले एक बिघा जमिनमा लगाएको कागतीले विगत चार वर्षदेखि उत्पादन दिइरहेको छ । वार्षिक रु पाँच लाखको कागती बेच्दा आधा रकम नाफा हुने उनले बताए । उनले कागती बारीमा सुपारीखेती गरेर थप आम्दानी लिएका छन् । दुईजनालाई बाह्रै महिना कामदारका रुपमा रोजगारी दिएका उनले बोटबाटै प्रतिगोटा रु तीनमा व्यापारीले कागती किन्ने गरेको बताए । धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदै फाइदा हुने उनको अनुभव छ ।

सिजन अनुसार मल, सिँचाइ, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी प्राप्त गरेका छन् । मेचीनगर, बुद्धशान्ति, विर्तामोड, अर्जुनधारा र गौरादह कागतीखेतीका लागि उर्वर पालिका बनेका छन् । कचनकबल–२ का जगदीश राजवंशीले बजार र प्रकोपबाट पीडित भएर कागतीखेती मास्न बाध्य भएको बताए । उनको खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरे तापनि व्यावसायिकखेती भर्खर गरिएको थियो ।

जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच पाँच दशमलव पाँच देखि छ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ । पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको गुनासो छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *