गुँला धर्म पर्व आजदेखि शुरु

२१ साउन, काठमाण्डौ । गुँला धर्म पर्व आजदेखि शुरु भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ ।

काठमाण्डौको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’को अर्थ ‘महिना’ भएकोले नेपाल संवत्को नवौँ महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।

हरेक बिहान गुँलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व शुरु गरिन्छ । सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुँला पर्व शुरुवातमा निकालिन्छ ।

नेवार समुदायका गोपालीले पानीका मुहानमा पूजा गरी परिक्रमा गर्ने चलन छ । असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समय खोल्ने गरिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *