एएफसी च्यालेन्ज लिगमा भाेलि चर्च ब्वाइज र पाराे एफसी खेल्दै

२८ साउन, काठमाण्डाै । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफमा भोलि भुटानको पारो एफसीसँग खेल्दैछ । यो खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।

तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो एफसी चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । नेपालको घरेलु लिगमा सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारो एफसीले यही प्रतियोगिताका लागि भित्र्याएको छ । यद्यपि चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन् । चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ ।

खेलअघि आज भएको पत्रकार सम्मेलनमा चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने बताएका छन् । खेलाडीले आफ्नो क्षमता र रणनीति अनुरूप खेल्न सके घरेलु समर्थकलाई सुखद नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

भुटानमा लिग खेलिरहेको पारो एफसी अहिले शीर्ष स्थानमा छ । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए । पछिल्लो सिजन मच्छिन्द्र क्लबसँग नतिजा सुखद नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजलाई राम्रो चुनौती दिने उनको विश्वास छ ।

एएफसी च्यालेन्ज लिग प्लेअफका विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *