ट्रमा सेन्टरमा चाैबीसै घण्टा आकस्मिक शल्यक्रिया गरिने, पाटन अस्पतालमा बिदाका दिन पनि ओपीडी सेवा शुरू

२८ साउन, काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका १७ वटा अस्पतालले सेवामा सुधार गर्न थालेका दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले अस्पताल सेवा सुधारको शुरुआत भन्दै १७ वटा अस्पतालको सेवामा सुधार शुरू भएको जानकारी गराएको हो । मन्त्री पौडेलको सचिवालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयले साउन ४ गते गरेको परिपत्रअनुसार सुधार शुरू भएको जनाएको हो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेलगत्तै अस्पतालमा देखिएको भीड व्यवस्थापनसँगै सेवालाई दुई ‘शिफ्ट’ मा थप गुणस्तर वृद्धि गर्न नाैँ बुँदे निर्देशन जारी गर्नुभएको थियो । मन्त्रीको निर्देशन मन्त्रालयले साउन ४ गते सङ्घ मातहतका अस्पताललाई परिपत्र गरेको थियो । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुसार अस्पतालहरूले सुधार शुरू गरेका हुन् । सङ्घ मातहतका १७ वटा अस्पताल सबैले ओपीडी सेवा बढाएका छन् ।

काठमाण्डाैकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधि आफ्नै फार्मेसीबाट वितरण थालेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा जनरल ओपिडी सेवा अवधिसँगै शल्यक्रिया अवधि बढेको छ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेडियोलोजीका लागि बेग्लै काउन्टर खोलेको छ ।

यस्तै राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डाैले चाैबीसै घण्टा आकस्मिक शल्यक्रिया शुरू गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जनाएको छ । कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शय्या तथा ‘अब्जर्भेशन’ का लागि २० शय्या थप गर्ने प्रक्रिया शुरू गरेको जनाएको छ ।

साथै पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ । अरू अस्पतालहरूले पनि भीड व्यवस्थापन, ओपीडी सेवा अवधि थप, अनलाइन टिकट लगायतका सेवाहरू विस्तार गरेको जनाएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *