कर्मचारी र अख्तियाबीचको अन्तरविरोधले समग्र प्रशासन नै ठप्प हुने अवस्था आयो : अध्यक्ष ‘प्रचण्ड’

३१ साउन, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको अन्तरविरोधले समग्र प्रशासन नै ठप्प हुने अवस्था आएको बताउनुभएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले अख्तियार र सरकारी कर्मचारीबीचको अन्तरविरोध नहटेसम्म र केही विषय प्रष्ट नभएसम्म सरकारी सेवा प्रवाहमा सुधार नहुने पनि बताउनुभएको छ ।

उहाँले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । ‘प्रचण्ड’ले भ्रष्टाचार निवारणको कुरा कानुनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको पनि उल्लेख गर्नुभएको छ ।

कर्मचारीतन्त्रभित्र अख्तियारको आतङ्क जस्तो देखिने र अख्तियारभित्र पनि भ्रष्टाचार रोक्नुपर्ने दायित्वबोध भएको उल्लेख गर्दै ‘प्रचण्ड’ले जटिलतालाई फुकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अख्तियारले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्वन हुने कुरा ठिक हो वा होइन भन्नेबारेमा पनि पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *