जनै पूर्णिमा, रक्षा बन्धन

दीपक चापागाईं  
येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ॥
अर्थात् “जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन र विचलित नहोऊ ।
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहाना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व धेरै छ ।
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका ६ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ। ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावण शुक्ल पूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न नसक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
जनै पूर्णिमाको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट नयाँ जनै फेर्ने र ज्वाइँको हातबाट मंत्र उचारण गरी डोरो लगाउने चलन छ । तर आजकल यो चलन बिस्तारै हराउदै गएको देखिन्छ । कारण हरु धेरै हुन सक्छन। कतिपय मानिसहरु लाजका कारण जान नसकिएको बताउने गर्दछन भने कतिले समय ब्यासतता, मंत्र उचारण नआउने र कतिपयले जनै नै न लगाएको बताएका छन् । आजकल धूमधामसंग उपनयन कार्य गर्ने गरिन्छ तर उपनयन गरेको भोली देखि उपनयन गरेको बालकको काँधमा जनै हुँदैन ।
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मण हरू नुहाई-धुवाई गरेर पूजा पाठ गरी सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन व रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाईदिने गरिन्छ । बदलामा शिष्य-यजमानहरू ब्राह्मणलाई दक्षिणा(रूपयाँ पैसा)वस्त्रादि उपहार दिने गर्छन ।
यस दिन बहिनीहरूले आफ्नो भाइको हातमा पवित्र धागो रक्षाबन्धन(राखी) बाँधेर, टिका लगाएर मिठाई खुवाउने गर्छन् । भाईले बहिनीलाई केही उपहार अर्थात दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावण महिनाको पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *