आजदेखि सकियो यस वर्षको तीज

२३ भदौ । आज ऋषिपञ्चमी पर्व नेपाली महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाएका छन् ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । आज अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेसँगै यस वर्षको तीज समापन भएको छ ।

यस वर्ष गएकाे बिहीवार दर खाएर शुरू भएको तीज पर्व आज सकिएको हो । पहिलो दिन भाद्र शुक्ल द्वितीयामा छोरी, चेलीलाई घरमा बोलाएर दर खुवाइएको थियो । दोस्रो दिन भदौ २१ गते भाद्र शुक्ल तृतीयामा व्रत बसी उमामहेश्वर पूजाआराधनासहित पारिवारिक कल्याणको कामना गरिएको थियो । तेस्रो दिन भदौ २२ गते अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन हरितालिका व्रत समापन गरी भगवान् गणेशको पूजाआराधना गरिएको थियो । आज खोला, नदी, ताल, तलाउ, पोखरीमा गई दतिउनले स्नान गरेर अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि तीज समापन भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *