गौहत्यामा संलग्न तीन भुटानी शरणार्थीसहित चार पक्राउ

झापाको दमकमा गौहत्यामा संलग्न तीन भुटानी शरणार्थीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं .२ छाप्रो नम्बर ३३२ का ४४ वर्षीय प्रेमबहादुर बिष्ट, दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए ३–२०८ का ३८ वर्षीय खगेन्द्र दुलाल, सोही शिविरका छाप्रो नं ए २–१२० का ३२ वर्षीय विधान थापा र दमक–४ की ४५ वर्षीया गीता श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

गत शुक्रबार पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुले भदौ १८ गते राति दमक–२ का लछुमन बिष्टको दमक–१ स्थित पानीट्याङकी गोठमा बाँधी राखेको दुई महिने गर्भेणी गाईलाई चोरी गरेका थिए । गाई चोरेपछि सोही स्थानदेखि करिब एक सय मिटर पूर्वतर्फको खाली प्लटिङ जग्गामा लगेर हत्या गरेर खुट्टा, करङ र घाँटीको मासु काटी लगेर अवस्थामा गाईको शव फेला परेको थियो । प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी एक थान, बञ्चरो एक थान र मासु बोक्न प्रयोग गरेको झोला एक थान बरामद गरेको छ ।

घटनामा सम्लग्न प्रेमबहादुर यसअघि पनि चोरी, डाका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए भने खगेन्द्र जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाही भएको प्रहरीको रेकर्डमा छ । त्यसैगरी, विधान थापालाई यसअघि पनि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाही भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *