नेप्सेसँगै कारोबार रकम पनि घट्यो, शेयर बजार ५ दिनयता ओरालो यात्रामा

२५ भदौ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य नौ अङ्कले घटेर दुई हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा झरेको छ ।

नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको पहिलो कारोबार दिन अस्ति २५ दशमलव ४६ र हिजो ५५ दशमलव ८६ अङ्कले घटेको थियो ।

आज बीमा, उत्पादन, माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स, जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै व्यापार समूहको शेयर सामान्य बढ्दा होटल समूहको शेयरमा घटबढ भएको छैन ।

आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय २८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर सात अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *