बारामा श्रीमानद्वारा श्रीमतीको हत्या, दुई छोरी घाईते

२६ भदौ, बारा ।  बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमल कुमार बस्नेतले मंगलबार राति ७:४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटक पटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा  मंगलबार राति ८ बजे र १५ मिनेटमा मृत्यु भएको हो ।

बुवा आमाको झगडा छुट्याउने क्रममा दुई छोरी समेत घाईते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगंज पठाईएको छ ।

प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा सुरु भएको झगडाले उग्ररुप लिएको थियो । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्‍जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुई जनाको भनाभन भएकाे थियाे । मदिरामा मस्त श्रीमानले नजिकै रहेको धारिलाे हतियारले शौचालयमा रहेकी श्रीमतीलाई प्रहार गरेका थिए ।

श्रीमान बिमल कुमार बस्नेतलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । श्रीमान् र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *