विराटनगरमा भदौ २७ देखि ३० गतेसम्म कृषि एक्स्पो २०८१ सञ्चालन हुने

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा विराटनगरमा भदौ २७ देखि ३० गतेसम्म कृषि एक्स्पो २०८१ सञ्चालन हुने भएको छ । कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्स्पोमा अत्याधुनिक प्रविधिहरू र परम्परागत प्रयोग गरिने कृषि सामाग्रीहरू प्रदर्शनीमा राखिने जानकारी दिए ।

एक्स्पोमा १३० वटा स्टलहरू रहने छन् । १०८ वटा स्टलहरू मात्र रहने भनिए पनि मागको आधारमा २२ वटा स्टल थप गर्नु परेको राउतले पत्रकार सम्मेलनमा जानकारी दिए ।साथै किसानहरूले उत्पादन गरेका कृषि उपजलाई भण्डारण स्थल र बजारसम्म पुयाउनका लागि आवश्यक पर्ने डेलिभरी भ्यान समेत प्रदर्शनीमा राखिने महासङ्घले जनाएको छ । दुई महिना पहिला देखि नै मोरङको कटहरी गाउँपालिकामा रहेको एकीकृत कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गर्ने बारेमा छलफल तथा तयारी थालेको थियो । कृषि क्षेत्रको व्यवसायीकरण, किसान र व्यवसायी बीचको सहकार्य, आधुनिक कृषि प्रणालीको विकासमा एक्स्पोले भूमिका खेल्ने आयोजकको दाबी छ । राउतले कृषि क्षेत्रको आधुनीकरणमा हालसम्म गरिएका आधुनिक आविष्कारहरूको प्रदर्शनी गर्न एक्स्पो सफल हुने दाबी गरे ।

राउतले तीनै तहका सरकारहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिँदै आएकोले कोसी प्रदेशका १४ जिल्ला तथा १३७ पालिकाको नै सहभागिता रहने समेत दाबी गरे । एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरी विभिन्न समितिहरू गठन गरिएको छ । एक्स्पो हुने स्थानमा ५ वटा ब्लक छुट्ट्याइएको छ । जसमा (ए) मा पशुपक्षी, (वि)मा कृषि, (सी) मा मेशिनरी (डी) मा फुड स्टल र (ई)मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करिब १३० वटा स्टलहरु जसमा भारतको विहार तथा कलकत्ताबाट २० वटा स्टल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *