एकवर्षमा पनि लागेन हिसाबको टुङ्गो

गत असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउसी) खेलको गोलमाल भएको रकम एक वर्ष बित्नै लाग्दा पनि टुङ्गो लाग्न सकेन । इलाम नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि इलाम नगर प्रतिष्ठान सहितका अन्य संस्थाहरूको संयुक्त आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब एक वर्ष बित्दा पनि टुङ्गो लाग्न सकेन । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दुई पटक सम्म पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले एक वर्ष सम्म पनि हिसाब मिलाएर सार्वजनिक गर्न नसक्दा पनि नियमन गर्ने निकाय मुख दर्शक बनिरहेका छन् । इलाम नगरपालिकाका प्रमुख केदार थापाले गत वर्षको हाउसीको हिसाबबारे नगरपालिकाले केही गरेन भन्ने प्रश्नमा यो विषयमा अहिले नबोलौँ भन्ने जवाफ दिए । उनी मातहतै रहेको नगर प्रतिष्ठानलाई हाउजी खेलाउने जिम्मा दिएका थापाले यो विषयमा अहिले नबोलौँ भन्नुले नगर प्रमुखकै आडमा हिसाब सार्वजनिक नगरेको हो भन्ने आशङ्का छ ।

गत वर्षको आय व्ययको टुङ्गो नलागे पनि यस वर्ष पनि खेलाउने तयारी भइरहेको छ । खेलबाट उठेको रकमको हिसाब समितिले सार्वजनिक गर्न नसके पनि नगरपालिकाकै अनुमतिमा यस वर्ष पनि खेलाउने तयारी भइरहेको छ । यस वर्ष रेड हर्ष फुटबल क्लब, जिल्ला ब्याडमिन्टन सङ्घ र जिल्ला क्रिकेट सङ्घको संयुक्त आयोजनामा असोज १७ गतेबाट खेल खेलाउने तयारी भइरहेको छ । हाउसी खेलाउनका लागि राहसल बाल अनाथालयबाट ल्याएको पिँजडा, गोटी र २५ बुङ टिकटको पैसा अहिले सम्म नतिरेको राहसल वाल अनाथालयका कोषाध्यक्ष टीकाराम चौहानले बताए । हाउजीबाट उठेको रकम खुलेआम गोलमाल दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुन हिसाब सार्वजनिक गर्ने भनेको आयोजक एक वर्ष बित्न लाग्दा पनि अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि अहिले सम्म पनि हिसाब नदेखाउनु खुलेआम भ्रष्टाचार गरेको प्रस्ट हुन्छ । इलाम नगरपालिकाको अनुमतिमा नगर प्रतिष्ठानको मुख्य आयोजनाबाट हाउसी खेल सञ्चालन भएको थियो । नगर प्रतिष्ठानको मुख्य आयोजनामा भएको उक्त खेलमा अन्य नौ वटा संस्थाको समेत संलग्न छ । खेल खेलाउन दैनिक उठाइएको रकममा भ्रष्टाचार भएको भन्दै सामाजिक रूपमा प्रश्न उठेपछि हिसाब पारदर्शिता गर्ने भन्दै दुई पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसके पछि चकमन्न देखिन्छ ।

प्रत्येक वर्ष इलाम नगरपालिका र जिल्ला प्रशासनको स्वीकृति लिएर कुनै न कुनै संस्थाले हाउसी खेलाउने गरिएको छ । दसैँ र तिहारमा मनोरञ्जन गराउने उद्देश्यले खेलाउँदै आएको हाउजी गत वर्ष इलाम नगर प्रतिष्ठानको मुख्य आयोजनामा भएको खेलमा जिल्ला फुटबल सङ्घ, रेडहर्स फुटबल क्लब, माई भ्याली फुटबल क्लब, इलाम नगर साहित्य प्रतिष्ठान, तेक्वान्दो सङ्घ, इलामका सहयोगी हातहरू र ब्याडमिन्टन सङ्घले संयुक्त रूपमा हाउसी खेलाउने अनुमति पाएका थिए । नौ संस्थाले अनुमति पाए पनि अनुमतिका लागि स्पष्ट मापदण्ड के हो भन्ने चाहिँ कतै उल्लेख छैन । लाखौँ रुपैयाँको चिट्ठा कारोबार भएको हाउसीको आय–व्यय विवरण आयोजकले देखाएकैमा विश्वास गर्नुपर्ने अवस्था छ । सिङ्गो खेलमा भएको आम्दानी र खर्चको विवरणको लेखा परीक्षण हुँदैन । आयोजक संस्थाले आफ्नो लेखा परीक्षण गराउँदा हाउसीबाट भएको आम्दानीसम्म देखाउन सक्छन् तर खर्च चाहिँ त्यहाँ पनि देखिँदैन । त्यसैले ठुलो आर्थिक कारोबार लेखा परीक्षण बिनै गुज्रिरहेको छ ।
स्थानीय सरकारकै संलग्नतामा सञ्चालन भएको खेल हाउसीको हिसाब गोलमाल सम्बन्धी स्थानीय सरकार मूकदर्शक बनेको छ । खेल सम्पन्न पश्चात् पत्रकार सम्मेलनमा रहेका नगर प्रमुख केदार थापाले खेल जेजस्तो भए पनि इलाम बासीले यसलाई राम्रो बुझिदिनु पर्ने बताएका थिए । खेल खेलाउन अनुमति दिएको नगरपालिकाले आर्थिक हिनामिनाको विषयमा चुप लागेर बस्नुले स्थानीय सरकार माथि नै प्रश्न उब्जिन थालेको हो ।

आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । आयोजकले टिकटको यकिन तथ्याङ्क नै दिन नसक्नुले हचुवाका तालमा खेल खेलाएर आर्थिक चलखेल गरेको प्रस्ट हुन्छ । आयोजकले खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क दिन नसकेपछि संस्थाको कमजोरी रहेको प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडाले पत्रकार सम्मेलनमा स्वीकार गरेका थिए ।  बिङ्गो खेल सञ्चालनको दुई दिनअघि नगरपालिकामा बसेको आयोजकको बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैङ्कमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, न प्रत्येक दिन विक्री भएको टिकट सङ्ख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैङ्क जम्मा भयो । एकमुस्ट बचत मात्रै देखाएर हिसाबलाई गोलमाल गर्न खोजियो । नगरपालिकाको बैठकमा गरिएको निर्णय समेत कार्यान्वयनमा छैन । यति हुँदा पनि नगरपालिका चुप लागेर बसेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *