नेपालमा विदेशी वस्तुको आयात बढ्यो, निर्यात भने घट्दै

८ असोज, झापा । नेपालमा विदेशी वस्तुको आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढेको छ, निर्यात भने ओरालो लागेको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा दुई खर्ब २६ अर्ब ५४ करोड रुपैयाँको वस्तु विदेशबाट आयात भएको  छ । यो गएको आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा एक दशमलव शून्य आठ प्रतिशतले धेरै हो । तर निर्यात भने गएको वर्षको दुई महिनामा भन्दा पाँच दशमलव १२ प्रतिशतले घटेर २५ अर्ब नौ करोड रुपैयाँमै सीमित भएको छ । दुई महिनामा दुई खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ ।

आयात बढ्दा देशमा अर्थतन्त्र केही चलायमान हुने र भन्सार राजस्व बढ्ने सरकारको तर्क रहेको छ । दुई महिनामा भन्सार राजस्व १० प्रतिशतले बढेको छ । दुई महिनामा ७४ अर्ब ३१ करोड रुपैयाँको भन्सार राजस्व सङ्कलन भएको छ, यो गएको वर्षभन्दा ६ अर्ब रुपैयाँले धेरै हो ।

दुई महिनामा सबैभन्दा धेरै ४३ अर्ब २५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै १० अर्बको घिउ तेल, ६ अर्ब २४ करोडको तरकारी र फलफूल, पाँच अर्ब चार करोड रुपैयाँको खाद्यान्नलगायत आयात भएको छ ।

यसैगरी निर्याततर्फ सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँको चिया र कफी निर्यात भएकाे छ । यस्तै दुई अर्ब ११ करोडको फाइबर, दुई अर्ब १३ करोडको कार्पेट, एक अर्ब ९५ करोडको फलाम र फलामजन्य वस्तु, एक अर्ब ७५ करोडको हस्तकलाका सामान, एक अर्ब २९ करोडको तरकारी र फलफूल तथा एक अर्ब २७ करोड रुपैयाँको खाद्यान्न निर्यात भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *