बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक
२७ असोज । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायतसहित ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको अभ्यासमा सहभागिता थियो ।
सन् १९६० देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको हो । दुई दिनभित्र हतियारसहित झन्डै ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतको दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने गरेको निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो ।