बन्धक बनाएर फिरौती लिने दुई प्रहरी र एक युवती पक्राउ
२५ भाद्र, बाँके । नेपालगञ्ज एकलैनीका अन्सारी थरका एक युवालाई पूर्व प्रेमिका र दुईजना प्रहरीले होटलमा बन्धक बनाएर फिरौती रकम लिएपछि प्रहरीले तिनै जनालाई पक्राउ गरेको छ ।
गएको भदौ ५ गते बिहान पीडित युवक अन्सारीलाई पूर्व प्रेमिकाले भेट्न बोलाएपछि पूर्व प्रेमिकालाई भेट्न आनाकानी गर्दै नेपालगञ्ज राँझामा रहेको निशा होटलमा अन्सरी पुगेका थिए ।
होटलपुगेको केहिसमयमै दुईजना प्रहरी होटलभित्र प्रवेश गरी तीनजनाको पूर्व योजना अनुसार अन्सारीले युवतीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा फसाउने भन्दै १० लाख माग उनिहरुले मागेका थिए। तर अन्सारीले आफूसँग त्यति धेरै रकम नभएको भन्दा युवतीले नै सामाजिक बदनाम हुने भन्दै ५ लाखमा कुरा मिलाएका थिए। पीडीत युवक अन्सारीले साथीभाइसँग मगाएर करिब ४ लाख ५० हजार रुपैयाँ पुर्याए र नपुग ५० हजार रुपैयाँ होटल सञ्चालक कृष्णकुमारी घर्तीसँग सापटी मागेर त्यहाँबाट उम्किए थिए अन्सारी ।
तर लामो समयसम्म होटल सञ्चालक कृष्णकुमारी घर्तीले रकम नपाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा स्पस्टीकरण दिदै उजुरी दिएका थिइन । अनुसन्धान अघि बढाउँदा प्रहरीले घटनामा प्रहरीकै मिलोमतो देखिएपछि संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दङ्गा नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की श्रोती हमाललाई पक्राउ गरेको छ । अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पीडित भनिएका व्यक्ति आफुहरुको सम्पर्कमा नआएका कारण अनुसन्धान पूरा हुन सकेको छौन । इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रमेश सिंहले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थपेको जनाएको छ ।