झापामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु
झापा , कात्तिक १९ । झापामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
कात्तिक १६ गते साँझ ६.१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान अन्दाजी ५बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका – ३ सोगुम बस्ने ४३ वर्षीय सुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।
त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि आज बिहान मृत्यु भएको छ ।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको १५० मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो ।
दुबै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा आज बिहान ५ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।