केबुलकार निर्माणको विषयमा झडप, ६ जना घाइते
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४० वर्षीय दामोदर अधिकारी, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू छन् ।
झडपकै क्रममा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी पनि सामान्य घाइते भएका छन् । घाइतेमध्ये मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा तथा अधिकारी र शेर्पाको स्थानीय तमोर अस्पतालमा उपचार भइरहेको छ ।
केबुलकार परियोजना निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रकसन प्रालिले निर्माणस्थल पाथीभरा क्षेत्रको काफ्लेपाटीमा एक्साभेटर लैजाने क्रममा झडप भएको हो । सुरुमा केबुलकार पक्ष र विपक्षबिच झडप हुनसक्ने भन्दै प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएपछि परियोजना पक्षका जनशक्ति उत्तेजित हुँदा झडप भएको स्थानीय बताउँछन् ।