१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकै गाउँका नौ पक्राउ

२४ भदौ, इलाम । १३ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका वडा नं. ९ का नौजना पक्राउ गरेको छ । एकजनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठजनालाई शनिबार मात्र पक्राउ गरेको हो ।

बालिकाको पेटमा २४ हप्ताको गर्भ रहेको जनाइएको छ । उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम खुलाउन नमिल्ने बताए ।

‘घटनाको थप अनुसन्धानका लागि आठजनालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘आज पक्राउ परेकालाई आइतबार जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गर्छौँ ।’ एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेको छ । दुईजना भने फरार रहेको प्रहरीले जनाएको छ । सबैले फरक–फरक समयमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरी परेकाहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् ।

यसरी सार्वजनिक भयो घटना
बालिकाको पेट बढ्न थालेपछि परिवार र आफन्तले सोधपुछ गरेका थिए । उनले आफ्नै फुपाजुले बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

गाउँमा नै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा उनले अरू १० जनाको पनि नाम लिएकी थिइन् ।

२४ हप्ताको गर्भ
बालिकाको २४ हप्ताको गर्भ छ । उनी कक्षा ६ मा पढ्छिन् । उनको पेट अस्वाभाविक देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा बलात्कार भएको खुलेको थियो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेको स्थानीयको भनाइ छ ।

१८ देखि ६५ वर्षसम्मका
बलात्कार आरोपमा पक्राउ पर्नेहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् । सबैभन्दा पहिला पक्राउ परेका बालिकाका फुपाजु ६० वर्षका हुन् । तर, १८ वर्ष भनिए पनि केही १५ वर्षका हुन सक्ने एक स्थानीयले बताए । नया पत्रिका बाट

Leave a comment

Your email address will not be published. Required fields are marked *