झापामा अपाङ्गता भएकाहरुले मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै परिचय–पत्र पाउने
झापा, २८ कात्तिक । झापाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका सञ्चालनमा आएको छ ।
प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा आएको हो । करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन वर्षे कार्ययोजना बनाएर झापाका १५ वटै पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने बरिष्ठ कार्यक्रम व्यवस्थापक कोइरालाले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य मदन बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
नवजात शिशु तथा १० बर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालित छ ।
फाउण्डेशनका पालिका संयोजक जिल्ला संयोजक सञ्जय शर्मा, पालिका संयोजक सुरेन्द्र गिरी, सीबीआर अधिकृत स्नेहा खड्का, झापाली सञ्चारकर्मीको लगायतको सहभागिता रहेको थियो ।