म्याग्दीमा बाढीले विद्यालय भवन र सडक बगायो, बेनी बजार जोखिममा

२८ भदौ, म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले विद्यालय भवन तथा सडक बगाउनुको साथै बेनी बजारमा जोखिममा पारदिएको छ ।

छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनुका साथै अर्को एउटा भवन आधा बगाएको हो ।

खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको छ ।

बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।

करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटक समस्यामा परेका छन् । मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ ।

यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जोस्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएकोे छ भने थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षती पुगेको छ ।

मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपराहन्न पाँच बजेदेखि नौ बजेसम्म बाढीको सतह बढेको थियो । राति सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दाहरु नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्कन थालेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *