पालिका उपचुनावका लागि उम्मेदवारी दर्ता चल्दै

२ कात्तिक ।  यही १६ गते हुने पालिकाको उपचुनावका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ ।

काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ताको काम भइरहेको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जनले उम्मेदवारी दिँदै हुनुहुन्छ ।

यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ । कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिँदै हुनुहुन्छ । एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा यौनिक अल्पसङ्ख्यकलाई उम्मेदवार बनाएको छ । जसपा नेपालको तर्फबाट मेयरमा दीपक महर्जन र वडा नम्बर ४ को अध्यक्षमा राजिव महर्जनले उम्मेदवारी दिनुभएको छ । दुवै जना यौनिक अल्पसङ्ख्यक हुनुहुन्छ ।

कीर्तिपुरका वडा नम्बर १ र ४ तथा काठमाण्डाैको वडा नम्बर १६ मा वडाध्यक्षका लागि पनि चुनाव हुँदैछ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र वडाध्यक्ष दुवैमा उम्मेदवारी नदिने भएको छ । उम्मेदवारी नदिनुको कारण भने रास्वपाले खुलाएको छैन । आज बेलुका पाँच बजेसम्म उम्मेदवारी मनोनयनको समय रहेको छ । आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।

भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी पर्सि ४ गते बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि दिँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । ५ गते नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *