अष्टोत्तोरशत् १०८ श्रीमद्भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ आजबाट शुरू

अर्जुनधारा ।  भरत भाबुक प्रसाई, पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद्भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

विश्वब्यापीरुपमा ख्याति कमाएका  प्रख्यात हिन्दू धर्मगुरु श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यले एकैसाथ महायज्ञको उद्घाटन गरेका हुन् ।
अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता तथा श्री १००८ स्वामी कालीबाबाको प्रमुख आतिथ्य र श्री १०८ मोहनप्रियाचार्यको बिशेष आतिथ्यमा भएको कार्यक्रममा  अर्जुनधारा संस्कृत गुरुकुलका वटुक छत्रपति गुरागाईले संस्कृत भाषाबाट स्वागत मन्तव्य व्यक्त  गरेका थिए।
मूल अर्चक  अग्नीप्रसाद सिग्देलले औचित्य माथी प्रकाश पार्दै  धामको ईतिहासबारे  चर्चा गर्दै बालाचतुर्दशी पर्वको अवसर पारेर धामको ४२औं बार्षिक अनुष्ठानको अवसरमा  धाममा अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको आयोजना गरिएको बताए।
कार्यक्रममा  प्रमुख अतिथी १००८ स्वामी कालीबाबाले अर्जुनधारा जलेश्वरधामको दिव्यस्थल र सिद्धक्षेत्र भएको बताउँदै आफूलाई  यहां आउन पाउँदा अति गौरव र खुशी लागेको जनाए ।
उनले महाभारतकालीन इतिहास बोकेको अर्जुनधारा जलेश्वरधाम धाम पुण्यभूमि भएको बताउँदै अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा सहभागी भएर पुण्यको भागी बन्न सबैलाई आह्वान गरे ।
उनले नेपाललाई  सनातन हिन्दू राष्ट्र कायम गर्न सबै जुट्नुपर्ने बताउंदै आफूहरू हिन्दू राष्ट्र कायम गर्न अन्तिम समयसम्म लडीरहने प्रतिबद्धता जनाए।
त्यस्तै  श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा जलेश्वरधामको महत्व पौराणिककालदेखि रहेको बताए।   उनले सनातन धर्मको बारेमा धारणा राख्दै हिन्दू राष्ट्र कायम गर्न आग्रह समेत गरे ।
 त्यस्तै श्यामानन्दजी महाराजले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए। कार्यक्रममा  कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्दव थापा, नेपाल सरकारका पूर्व अर्थमन्त्री महेश आचार्य, अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम अघि धाम परिसरबाट निस्किएको शोभायात्राले अर्जुनधारा नगर परिक्रमा गरेको थियो।
शोभायात्रामा पञ्चकन्या, १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्य, धार्मिक गुरुहरु , पंडित, बिभिन्न संघसंस्थाहरु ,बटुक , झांकी, लाखे , च्याब्रुङ नाच,भक्तजनहरुको सहभागिता रहेको थियो ।श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्यलाई अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीसहितका पदाधिकारी , व्यासाचार्य कुवेर सुवेदी , मूल अर्चक अग्नी सिग्देललगायतले धाम परिसरमा  स्वागत गरेका थिए ।
अर्जुनधारा जलेश्वरधामका बटुकहरुले स्वस्ती बाचनसहित उनीहरूलाई स्वागत गरेका थिए।
 
यसैबीच अर्जुनधारा अतिथि सदन निर्माणको  शिलान्यास गरिएको छ । श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्य ले अर्जुनधारा अतिथी सदनको शिलान्यास गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी कालीबाबा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्दव थापा, अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले  अर्जुनधारा अतिथी सदन निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
  अर्जुनधारा  अतिथी सदन निर्माणका लागी अर्जुनधारा नगरपालिकाको २० लाख र वडाहरूले जनहि ५ लाख गरी ७५ लाख रूपैयाँ दिने बचन दिएको र  कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्दव थापाले कोशी प्रदेशको तर्फबाट ५० लाख  दिने धामका अध्यक्ष नवीन गट्टानीले बताए।
अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशब भट्टराईले गरेको प्रचारप्रसार संयोजक  निरज ओलीले जानकारी दिए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *