साहित्य चौतारीले मंसीर १९ गते ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रम गर्ने

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालले कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रम गर्ने  भएको छ ।

साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

आगामी मंसिर १९ गते बुधबार कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औ.नारायण गोपाल स्मृति दिवस र विश्व अपाङ्ग दिवस विविध साँगीतिक कार्यक्रम गरी मनाउने बताउँदै अध्यक्ष श्रेष्ठले  कार्यक्रममा नारायण गोपालका कालजयी गीत गुञ्जने भएकाले  कार्यक्रम थप आकर्षक र संगीतमय बन्ने जनाए ।

कार्यक्रम संयोजकको जिम्मेवारी उपाध्यक्ष हिम्मत नेम्वाङलाई दिइने उनले बताए । कार्यक्रम सफल बनाउन प्रमुख अतिथि, कलाकार, वाद्ययवादनलगायतको छनौट गर्ने अधिकार र जिम्मेवारी अध्यक्ष श्रेष्ठलाई दिइएको छ ।

सोही दिन विश्व अपाङ्ग दिवसको अवसरमा  शारिरीक अपाङ्गता भएका शिक्षक पदमप्रसाद अधिकारीलाई सम्मान गरिने उनले बताए ।

त्यस्तै सोही दिन  पाँच वटा साहित्यिक संस्थालाई संस्थागत सम्मान गर्ने अध्यक्ष श्रेष्ठले बताए । स्थापना भएर क्रियाशिल रहेका साहित्यिक संघसंस्थाहरुलाई ज्येष्ठता, वैधानिकता, निरन्तरता, प्रमुख लक्ष्य, समावेशी लगायतका मापदण्ड तय गरी ती मध्ये झापाका कनकाई प्रतिभा प्रतिष्ठान , जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोष , तेह्थुमको साहित्य संगम आठराई तेह्थुम र छ थर साहित्य समाज तेह्थुमसहित अन्य साहित्यिक संघसंस्थाहरुलाई सम्मान गरिने साहित्यिक संघसंस्था छनौट समितिका संयोजक राजेन्द्र संग्रौलाले बताए ।

सोही बैठकले संस्थाको कार्यसमिति सदस्यमा साहित्यकार देवीप्रसाद संग्रौला (डीपी शर्मा)लाई मनोनित गरेको छ ।

साहित्य चौतारीको उद्येश्य अनुसार विधान बमोजिम संस्थाको लक्षित उद्धेश्य परिपूर्तिका लागि संस्थामा आवद्ध रहेर साहित्य , कला, संगीत, भाषा, संस्कृति , परम्पराको सेवामा रहेर जिम्मेवारी वहन गर्नेगरी संस्थाको विविध कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका विगत लामो समयदेखि साधनारत् युवा साहित्यकार पूर्व प्रधानाध्यापक डीपी शर्मालाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष श्रेष्ठले बताए ।

बैठकपछि संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्वाङ, महासचिव गौरव श्रेष्ठ, सचिव तुलसीप्रसाद निरौला, सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्यहरु चित्रा पौड्याल, कल्पना भट्टराई, सुनिता तामाङ, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सल्लाहकार सदस्य हरिनारायण भट्टराईलगायतले  कार्यसमिति सदस्यमा मनोनित    डीपी शर्मालाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

 संस्थाको स्वर्ण वर्षलक्षित कार्यक्रम अन्तर्गत हुने  आगामी मंसीर १९ गते बुधबार हुने कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभा, ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रममा  प्रशासन तथा सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, भाषा,कला र साहित्यका प्रतिभा, स्रष्टा तथा सर्जक, सञ्चारकर्मीलाई आमन्त्रण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *