महमुद आलम हत्यामा पूर्वसभासद प्यासीलाई जन्मकैद

२८ भदौ, सिमरा । तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ ।

तत्कालिन एमालेका केन्द्रीय सदस्य समेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले उनलाई दस बर्षको जेल सजाय सुनाएको थियो । अदालतको फैसला बमोजिम २०७३ बैशाख १५ गतेदेखी जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम फैसला सुनाएको हो ।

उक्त महलको १३ (४) मा जन्मकैदको ब्यवस्था रहेको छ । आलमकी पत्नी नेजमाले दिएको पुनरावेदनमा एक नम्बर ईजलासका मुख्य न्यायधिस डिल्लीराज आचार्यको ईजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई उक्त फैसला सुनाएको ईजलास अधिकृत स्रिदिप वाग्लेले जानकारी दिएका छन् ।

यसअघि जिल्ला अदालत बाराले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टी जनाउदै आलम पत्नी नेजमाले २०७३ कार्तिक ५ गते पुनरावेदन गरेकी थिईन् । पुनरावेदनको करिब दुई वर्षपछि उच्च अदालतले अर्को फैसला गरेको हो ।

आलम हत्यामै जिल्ला अदालत बाराबाट जन्मकैदको फैसला पाएका मनोज भनिने रवी पाण्डेलाई अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम कसुर ठहर गरेको छ । ईजलास अधिकृत वाग्लेका अनुसार पाण्डेको हकमा तत्काल कसुर ठहर भएको र अर्को ईजलासबाट सजाय फैसला हुनेछ ।

आलम हत्याको घटनामा प्रयोग भएको भारतिय मोटरसाईकल पाण्डले चलाएका थिए । उनि जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएपछि वीरगन्ज काराकारमा जेल सजाय काटिरहेका छन् । घटनामा संलग्न अन्य तीन जनाको हकमा भने उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

घटनामा सुचना आदनप्रदान गर्न संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने बिपिन यादवलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम १० बर्षको फैसला सुनाइएको छ । जिल्ला अदालतले पनि उनिहरूलाई १० बर्षकै सजाय सुनाएको थियो ।

आलम पत्नी नेजमाको तर्फबाट अधिवक्ता गणेश दहाल, सुधिरलाल कर्ण, सन्तोष श्रीवास्तव, रफिक मिया, एकराज वास्तोला र सरकारी वकिल ध्रुव ज्ञवालीले बहस गरेका थिए । प्रतिवादी प्यासीका तर्फबाट भने मनमोहन तिमिल्सीना, देवेन्द्र सिंह, रामचन्द्र सिंह, वीरेन्द यादवले बहस गरेका थिए । दुबैतर्फको बहसपछि मुख्य न्यायधिस आचार्यले आलम हत्या घटनामा नया फैसला सुनाएका हुन् ।

संविधान सभाको दोस्रो निर्वाचनको समयमा बारा क्षेत्र नं. ६ बाट संविधान सभासद पदमा उम्मेदवारी दर्ता गराएको भोलीपल्ट २०७० असोज १८ गते आलममाथी परवानीपुरको चावासोती दालमिल अगाडी गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भिर घाईते आलमको असोज २४ गते काठमाण्डौमा निधन भएको थियो ।

एमाले निकट मुश्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाण्डौबाट समेत बिशेष अनुसन्धान टोली खटिएको थियो । लामो समयको अनुसन्धानबाट घटना प्यासीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले उनलाई सिमरास्थित एक होटलबाट पक्राउ गरेको थियो ।

प्यासी तत्कालिन एमालेका पूर्व समानुपातिक सभासद थिए । उम्मेदवारका आकांक्षी प्यासीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरीले बताएको थियो । आलम हत्यापछि एमालेले उनकी पत्नी नेजमालाई उम्मेदवार बनाएको थियो । आलम पत्नी नेजमाले फराकिलो मतान्तरसहित चुनाव जितेकी थिईन् । आलमका तीन छोरा छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *