झापा नाटक घरमा नाटक ‘परिबन्ध’को मञ्चन शुरु
बिर्तामोड । नेपाली समाजको समसामयीक घटनाको चित्रण गर्ने नाटक ‘परिबन्ध’ को झापामा मञ्चन सुरु भएको छ । बिर्तामोडको झापा नाटक घरमा सोमबार प्रिमियर–शो गर्दै नाटक मञ्चन सुरु गरिएको हो ।
क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा मञ्चन सुरु भएको नाटकको पहिलो शो हेर्ने दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् । कथावस्तु र कलाकारहरुको अभिनयले नाटक उत्कृष्ट बनेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
नेपाली समाजमा देखा परेका वास्तविक घटनाहरुलाई नाटकले दर्शाउन खोजेको छ । गरिबिको शिकार बनेको परिवारले भोग्नुपर्ने सामाजिक विभेद र त्यसबाट सृजीत अवस्थालाई नाटक ‘परिबन्ध’ले चित्रण गरेको छ ।
नाटकले आज मंगलबारबाट भने व्यवसायीक प्रर्दशन गर्ने नाटक मञ्चन संयोजक राजकुमार भट्टराईले जानकारी दिनुभयो । आजबाट मंसिर ३० गतेसम्म नाटकको दैनिक दुईदेखि चारवटा शो मञ्चन हुने भट्टराईले बताउनुभयो ।
गजेन्द्र पृथकको लेखन तथा निर्देशनमा निर्माण भएको नाटकले थिएटर पुग्ने दर्शकलाई नाटकीय सन्तुष्टी प्रदान गर्ने छ । कतै हसाउने त कतै भावुक बनाउने कलाकारहरुको अभिनय प्रशंसा योग्य छ ।
नाटकमा सृष्टि आचार्यलाई मुख्य भुमिकामा देख्न सकिन्छ । गजेन्द्र पृथक, भिमा खतिवडा, राजकुमार भट्टराई, प्रज्वल भट्टराई, राकेश कमेडी, माधव शिटौला, दिपा ढकाल, शितल खनाल लगायतका कलाकारहरुको उत्कृष्ट अभिनयले नाटकलाई बलियो बनाएको छ।
नाटक हेर्नलाई विद्यार्थीहरुका लागि १ सय रुपैँया मात्रै र अन्य दर्शकहरुका लागि २ सय रुपैयाँ टिकट दर कायम गरिएको बजार तथा प्रचार संयोजक ताराप्रकाश भट्टराईले जानकारी दिनुभयो । मञ्चन अवधिभर करिब १० हजारभन्दा बढीले नाटक अवलोकन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
नाटक निर्माण पक्षले नाटक घरसम्म आएर नाटक हेर्नकालागि आवहन् समेत गरेको छ ।