पत्रकार महासंघ इलामको अध्यक्षमा चापागाईंको उम्मेदवारी

नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वका लागि पत्रकार भीम चापागाईंले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यही मंसिर २८ मा हुने निर्वाचनमा महासंघको वर्तमान इलाम शाखा सचिव रहेका चापागाईंले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । इलामस्थित नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र स्वतन्त्र पत्रकारसहित संयुक्त व्यावसायिक प्यानलबाट चापागाईं साझा उम्मेदवार बनेको युनियन अध्यक्ष सविता पाण्डेले जानकारी दिइन् ।

२० वर्षयता पत्रकारितामा क्रियाशील चापागाईंले २०६७ देखि ०७० सालसम्म पनि इलाम शाखाको सचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । त्यसपछि उनी दुई कार्यकाल महासंघको केन्द्रीय सभासद् थिए । प्रेस चौतारी इलाम शाखाको अध्यक्ष रहेका चापागाईं २०६५ देखि ०६७ सालसम्म पनि चौतारी इलाम शाखाको सचिवमा कार्यरत थिए । इलामकै माइजोगमाई गाउँपालिका–५, सोयाङमा जन्मिएर इलाम नगरपालिका–७ मा बसोबास गरिरहेका चापागाईं १२ वर्षयता नागरिक राष्ट्रिय दैनिकमा कार्यरत छन् । करिब अढाई वर्ष नागरिक दैनिकको विराटनगरस्थित कार्यालयमा डेस्क इडिटर (कपी इडिटर)को समेत अनुभव गरिसकेका उनी पालिकापेजडटकमका सञ्चालकरसम्पादक हुन् ।

उनले इलाम एफएममा समाचार सम्पादक, वाचक, कार्यक्रम उत्पादक र प्रस्तोता, इलाम पोस्ट दैनिकको सहसम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए । नयाँपत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्ष, न्युज २४ टिभीमा तीन वर्ष, नेपाल एफएम नेटवर्क, बिएफएम, इलाम आवाज साप्ताहिक, पूर्वमेची साप्ताहिक, पूर्णलोकतन्त्र साप्ताहिक, आँखा साप्ताहिक, मोफसल साप्ताहिक र क्यापिटल एफएमलगायत मिडियामा पनि उनले काम गरिसकेका छन् । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर, शिक्षा संकाय र कानुन संकाय (पत्रकारिता विषय)मा स्नातक गरिसकेका पत्रकार चापागाईंले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययनको तयारी गरिरहेका छन् ।

पत्रकार चापागाईंले नागरिक राट्रिय दैनिकबाट सर्वोत्कृष्ट फिचर लेखन अवार्ड, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, प्रादेशिक आर्थिक तथा कृषि पत्रकारिता पुरस्कार, प्रादेशिक युवा जर्नालिज्म अवार्ड, प्रादेशिक मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार, आशिष स्मृति पत्रकारिता पुरस्कार, उत्कृष्ट समाचार लेखन सम्मान, क्षेत्रीय शिक्षा लेखनवृत्ति, उत्कृष्ट सहसम्पादक सम्मान, महेश कार्की स्मृति खेलकुद पत्रकारिता पुरस्कार, उत्कृष्ट यातायात सेवा पत्रकारिता पुरस्कारलगायत पुरस्कार र सम्मान पाएका छन् । नेपाल पत्रकार महासंघको मंसिर २८ मा हुने निर्वाचनमा अध्यक्ष पदको उम्मेवार बन्दैगर्दा उनले इलामको पत्रकारिता र पत्रकारका लागि आफू जुनसुकै अवस्थामा पनि लागिपर्ने प्रतिबद्धता गरेका छन् । कोरोनाको समयमा इलामका पत्रकारलाई रिपोर्टिङ र समाचार सम्पे्रषण गर्नमात्र होइन, ज्यान जोगाउनै धौधौ भएका बेला महासंघ सचिवका रूपमा चापागाईंले इलाममा कार्यरत धेरैजसो पत्रकारका घर–घर पुगेर सेनिटाइजर, मास्क, औषधिलगायत वितरण गरेका थिए ।

‘पत्रकारका लागि अत्यन्त जटिल त्यो अवस्था सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ,’ उनी सम्झिन्छन्, ‘कोरोनाले संक्रमित सबैजसो पत्रकारका घरै पुगेर राहतका सामग्री हातैमा राखिदिएर फर्किंदा निकै जोखिम सामना गर्नुपरेको थियो । तर, पनि डगमगाएनौं । पत्रकारलाई सबैखाले सहयोग गर्नु हाम्रो सबैभन्दा ठूलो कर्तव्य–जिम्मेवारी थियो । सकेसम्म पूरा गर्ने प्रयास गरिएको हो ।’ महासंघ इलाम शाखाको अबको नेतृत्व सबै पत्रकारको साझा, समावेशी, सक्षम र क्रियाशील बनाउन आफू लागिपरेको चापागाईं बताउँछन् । ‘इलाम शाखाले सक्षम, जुझारु, अनुभवी, व्यावसायिक र पेसाप्रति निष्ठावान् नेतृत्व खोजेको छ,’ उनी भन्छन्, ‘इलामका सञ्चारमाध्यम आर्थिक रूपमा धरासयी छन् । स्थानीय मिडिया टिकाएर पत्रकारलाई व्यावसायिक र पत्रकारितामै आत्मनिर्भर बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।’

स्थानीय मिडिया र पत्रकारलाई पत्रकारितामै टिकाइराख्न कानुनी व्यवस्था गर्नुपर्ने उनको धारणा छ । ‘स्थानीय सरकारले स्पष्ट मिडिया नीति बनाउनुपर्छ, स्थानीय पत्रकार र मिडियालाई माया–दयाले होइन, कानुनी रूपमा स्थानीय तहको स्रोत उपभोग गर्ने अवस्था सिर्जना गर्नुपर्छ, मेरो मुख्य उद्देश्य पनि यही हो,’ उनी भन्छन्, ‘इलामका पत्रकारलाई शिर ठाडो गरी गर्वसाथ म पत्रकार हुँ भन्ने आभाष गराउन महासंघले पहल गर्नुपर्छ ।’

यो प्यानलबाट उपाध्यक्षमा लोकेन थेबे, उपाध्यक्ष (महिला)मा सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा विनु खड्का, सहसचिव (समावेशी)मा बलराम बराइली र कोषाध्यक्षमा भगीरथ भण्डारीले उम्मेदवारी दिएका छन् ।  सदस्यमा सविता पाण्डे, प्रकाश नेपाल, मनोज अधिकारी, ठोमनाथ तिम्सिना (विनय), योगेन्द्र शंकर, सुनिता मगर, खेमराज ढकाल, रोशन काफ्ले र मनिष बस्नेतले उम्मेदवारी दिएका छन् । प्यानलबाट केन्द्रीय परिषद् सदस्यमा विप्लव भट्टराई, गणेश घिमिरे र सुजता सुनुवारको उम्मेदवारी परेको छ । यस्तै, प्रदेश परिषद् सदस्यमा शिव मुखिया, विमल दाहाल, दुर्गाभवानी पोख्रेल, राजीव नेउपाउने र सोम सुुनुवारको उम्मेदवारी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *