“दिव्य दृष्टि” नामक पुस्तक लोकार्पित, पत्रकार काजी सम्मानित
भद्रपुर, २९ मंसिर । लागूपदार्थविरुद्धको देशव्यापी अभियानलाई थप प्रभावकारी बनाउनका लागि चेतना नेपालले भद्रपुरमा अभियानता इन्द्रप्रसाद ओलीद्वारा लिखित “दिव्य दृष्टि” नामक पुस्तकको लोकार्पण सम्पन्न गरेको छ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सभापतित्व दाताराम सिटौलाले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, र विशिष्ट अतिथिका रूपमा पूर्व सांसद पुष्पराज पोखरेलको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन राज्यमन्त्री राजवंशीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले “दिव्य दृष्टि” कृतिले लागू पदार्थविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राज्यबाट थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
पुस्तकका लेखक इन्द्रप्रसाद ओलीले आफ्नो २१ वर्षदेखिको अभियानको अनुभव, लागू पदार्थका घातक प्रभावहरू र समाधानका उपायहरू पुस्तकमा समेटेको जानकारी दिनुभयो।
उहाँले यो कृति सबै वर्गका नागरिकहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै लागूपदार्थविरुद्ध एकताबद्ध हुन सबै पक्षलाई आग्रह गर्नुभयो।
सहप्राध्यापक ताराराज पौडेलले पुस्तकलाई सामाजिक सुधारको महत्वपूर्ण दस्तावेजका रूपमा मूल्याङ्कन गर्नुभयो। कार्यक्रममा चेतना नेपालले झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई जन्मदिनको अवसरमा सम्मान गर्दै मानार्थ सदस्यता पनि प्रदान गर्यो।