एनआरटीले चुम्यो इलाम गोल्डकपको उपाधि

इलामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो संस्करणको इलाम गोल्डकप उपाधि न्युरोड टिम एनआरटीले जितेको छ ।  शनिबार भएको फाइनलमा लिग विजेता चर्च ब्वाइजलाई ३–० गोलान्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एनआरटीले उपाधि दोहोर्‍याएको हो । एनआरटीको विजयमा विदेशी खेलाडी नेमारले १ र अञ्जन विष्टले २ गोल गरे ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा विजय सुनिश्चित गरेको हो । पहिलो हाफमा नेमारले बललाई जाली चुमाए । दोस्रो हाफमा अञ्जनले आकर्षक हेडिङबाट गोल गरे । उनैले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल पनि गरे ।

उपाधि जितेसँगै एनआरटीले नगद १० लाख र उपविजेता चर्च ब्वाइजले ५ लाख पाएका छन् । दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाए । मेन अफ् दि टुर्नामेन्ट अञ्जन विष्ट भए भने फाइनलको म्यान अफ् दि म्याच एनआरटीकै शिशिर लेखी भए ।

रेड हर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक सहभागी थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *