पीएल सिंहको निधनको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने
काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात् पीएल सिंहको निधनको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै आज, भोलि र पर्सि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
सिंहको ८८ वर्षको उमेरमा गएराति ठमेलको चाक्सीबारी निवासमा निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू पुगेका थिए ।
यसैबीच काठमाण्डौ महानगरपालिकाले पूर्वमेयर सिंहको निधनमा आज महानगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।