एनआरटी झापा कपको सेमिफाइनलमा प्रवेश
बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए ।
चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।