चर्च ब्वाइज झापा कपको फाइनलमा

बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ ।

चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका

खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो ।

चर्चका पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्काे दबाबमा परेको थियो । सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन ।

खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन । खेलको ५२ औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाए । ६९ औँ मिनेटमा अभि लामाको दोस्रो प्रहार विफल हुँदा सलहेश सेमिफाइनलबाटै घर फर्किएको छ ।

खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौँबीच हुनेछ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *