सांसदहरु भन्छन् : गृहमन्त्रीको चित्तबुझ्दो जवाफ आएन

२९ भदौ, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्तबुझ्दो नआएको बताएका छन् । गृहमन्त्रीको जवाफपछि प्रश्न गर्दै सांसदहरुले मन्त्री थापाले सन्तोषजनक जवाफ दिन नसकेको बताए ।  सांसद राजेन्द्रप्रसाद लिंगदेनले निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धानमा सरकार अलमलिनु अचम्म भएको बताए । ‘प्रारम्भीक अनुसन्धानकर्ताहरुलाई खास अभियुक्त थाहा छ, उनीहरुमाथि नै छानबिन गर्नुपर्छ’ उनले भने ।

सांसद पार्वती डिसी चौधरीले गृहमन्त्रीले गोलमटोल तरिकाले जवाफ दिएको भन्दै छानबिन बम दिदीबहिनीको घरबाटै हुनुपर्ने तर त्यसो नभएको बताइन् ।  संसद बालकृष्ण खाँडले निर्मला पन्तको बलात्कार विषयमा सरकारले अनुसन्धान र कारवाही नगरेको बताए ।

संसाद सुजाता परियारले मन्त्री थापाले दिएको जवाफमा विश्वास लाग्न नसकेको बताइन् । ‘वास्तविक अपराधी पत्ता लागिसक्दा पनि कानुनी कठगरामा नल्याइनु सरकारको गैरजिममेवारी हो ।’ उनले भनिन्, ‘कहिलेसम्म हत्यारा पत्ता लाग्छ ?
सांसद दिलेन्द्रप्रसाद बडुले छानबिन समितिका सदस्यलाई धम्काउने व्यक्तिबाटै अनुसन्धान गर्नुपर्ने बताए ।

सांसद राजकिशोर यादवले यो देशमा सरकार नभएको, गृहप्रशासन नभएको आरोप लगाए । जताततै बलात्कार र बलात्कारपछि हत्या बढेको तर सरकारले अपराधीलाई कारवाही गर्न नसकेको बताए । कञ्चनपुकी १३ वर्षीय निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुका सट्टा गृहमन्त्री थापाले गोलमटोल जवाफ दिएको उनले आरोप लगाए ।

सांसद चन्द्रा चौधरीले ५१ दिनसम्म बलात्कारी पत्ता लगाउन नसक्ने सरकारको गैरजिम्मेवारीपन भएको बताइन् ।

सांसद लक्ष्मणलाल कर्णले बर्दियामा हिरासतमा रोग लागेर मृत्यु भएको कुरा शंकास्पद भएको बताए । पोस्टमार्टम भएको कुरा पनि मन्त्रीको जवाफमा नआएको भन्दै हिरासतमा मृत्युप्रकरणबारे छानबिन गर्न माग गरे।

सांसद मीनबहादुर विश्वकर्मले निर्मला पन्तको बलात्कारपछि राज्य र प्रहरी प्रशासन र राजनीतिक दलका ठूला व्यक्तिहरुले प्रमाण नष्ट गर्दै गएको र त्यसमा गृहप्रशासन मुकदर्शक भएको बताए ।

सांसद प्रेम सुवालले राति नौ बजे छोरी हराएको खबर गर्दा वेवास्ता गर्ने प्रहरी र बम दिदीबहिनीमाथि प्रस्टरुपमा छानिबन हुन नसकेको बताए ।

सांसद दुर्गा पौडेलले बम दिदीबहिनीमाथि अनुसन्धान प्रायाप्त नभएको बताइन् ।

सांसद सञ्जय गौतमले गृहमन्त्री रामबहादुर थापा बादलको चित्त बुझ्दो जवाफ नआएको बताए । संसाद वृन्दा पाण्डेले जनप्रतिनिधि नै हिंसा र अपराधमा लागेको बताइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *