विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा, सार्वजनिक भए पाँच जना शार्क
काठमाण्डौ । बिश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ ।
नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।
सोमबार काठमाण्डौमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना शार्कहरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरुमा लगानी गरी उनीहरुको ब्यबसाय विस्तारमा सहयोग पु¥याउनेछन् ।
पहिलो सिजनका लागि आईएमई ग्रुपका सह–संस्थापक हेमराज ढकाल, अग्नी ग्रपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध भएका छन् ।
कठिन संर्घषमार्फत् ब्यबसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा ब्यबसायीहरुले उत्कृष्ट सोंच र सम्भावना भएका तर लगानी जुटाउन खोजिरहेका ब्यबसायहरुमा लगानीसँगै ब्यबसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् ।
यस सिजनका लागि अन्य दुई जना शार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।
यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ ।
‘भारत, बंगलादेश र पाकिस्तानमा शार्क ट्याङकको अभूतपूर्व सफलतापछि हामी नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित छौं।
शार्क ट्यांकले अनगिन्ती उद्यमीहरूलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पका कथाहरुद्वारा प्रेरित गरेको छ ।
’ सोनी पिक्चर्स टेलिभिजनकी दक्षिण एशिया क्षेत्रीय अन्तराष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिन भन्छिन– ‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रर्वतनलाई अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा छौं।
यसले दक्षिण एशियाभित्र शार्क ट्याङ्क ब्रान्डलाई अझ बलियो बनाउने छ र हामी नेपालबाट उदाउने नविन उद्यमहरुको प्रतिक्षा गरिरहेका छौं ।’
हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कडेलले शार्क ट्याङ्क नेपालको पहिलो सिजनको शार्कका रुपमा नेपालका सफल उद्यमी ब्यबसायीहरुलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए ।
‘वास्तवमा दक्षिण एशिया क्षेत्रमा यो कार्यक्रमको सम्झौता हिमालय टेलिभिजनले गरेको थियो तर कोभिड र आर्थिक सिथिलताका कारण सुरुवात गर्न केही ढिला हुन गयो’ उनले भने– ‘यो केवल रियालिटी शो मात्र नभएर नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नविन क्रान्ति ल्याउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’
हिमालय टेलिभिजन एचडीले शार्क ट्यांक नेपाल सिजन १ का लागि २० एपिसोडको श्रृङ्खला प्रसारण गर्ने तयारी गरिरहेको छ र नेपालका सबै प्रकारका व्यवसायहरूलाई आवेदन दिनका लागि आह्वान गरेको छ ।
व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डाटा प्रस्तुत गर्दै, एक निश्चित प्रतिशत व्यवसायको शेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन् ।
ब्यबसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमहरुले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।
शार्क ट्याङ नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिखभित्र दिइसक्नुपर्ने छ ।
हिमालय टेलिभिजनले नेपालमा बिभिन्न अन्तराष्ट्रिय रियालिटी टेलिभिजन शोहरुको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।
द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज, डान्सिङ स्टार लगायतका कार्यक्रम प्रसारण भइरहेका छन् भने यसै बर्ष अर्को अन्तराष्ट्रिय फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल पनि प्रसारण हुँदैछ ।