विपक्षी दलको संयुक्त वक्तव्य बनाउन दुई सदस्यीय कार्यदल गठन

काठमाण्डाै – विपक्षी दलहरूले सरकारको काम कारबाहीका सम्बन्धमा संयुक्त वक्तव्य बनाउन दुई सदस्यीय कार्यदल गठन गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

बैठकले सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गरेको छ । यसका विरुद्ध दबाब दिने उद्देश्यले साझा ‘ड्राफ्ट’ बनाउने निर्णय भएको माओवादीका उपमहासचिव पुनले जानकारी दिनुभयो । कार्यदलले आज बेलुकासम्म ‘ड्राफ्ट’ तयार गर्ने र भोलि फेरि विपक्षी दलको बैठक बसेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ ।

वक्तव्यको ‘ड्राफ्ट’ मा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषयलगायत समेटिने पुनले जानकारी दिनुभयो । सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएकाले त्यहीअनुसार साझा धारणा बनाउने उहाँको भनाइ छ ।

प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न ‘थ्रेसहोल्ड’ बढाउन खोजेको निष्कर्ष पनि निकालेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *