प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरासम्म पुग्ने केबलकारकाे निर्माण सुरु
ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजदेखि शुरू भएको छ ।
हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र केदेमले बटम स्टेशनबाट केबलकार निर्माणको कार्य शुरू भएकाे जानकारी दिनुभयाे । ताप्लेजुङका सबै राजनीतिक दल, सङ्घीय सांसद, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको काम द्रूत गतिमा अघि बढ्ने पनि उहाँले बताउनुभयाे ।
केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने उल्लेख गर्नुभयाे । पौडेलले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाउनुभयाे ।
यो केबलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिकालगायतका भक्तजनलाई पाथीभरा देवीको दर्शन गर्न सहज हुने छ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने सञ्चालक पौडेलले बताउनुभयाे ।
यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउनेहरूकाे सङ्ख्या १० लाख जनासम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधासहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नका लागि सहयोग पुग्ने छ ।