खुदुनाबारीमा ‘लिम्बुनी ठुली स्मृति कप-२०८१’ हुने
खुदुनाबारी । फुटबलका स्तरीय प्रतियोगिता बाक्लै सञ्चालन भईरहेको झापामा अर्को प्रतियोगिता हुने भएको छ।
यसै क्रममा खुदुनाबारीमा ‘लिम्बुनी ठुली स्मृति कप-२०८१’ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । च्यारिटी युथ क्लब खुदुनाबारीको आयोजनामा माघ २७ गतेदेखि फागुन ४ गतेसम्म हुने प्रतियोगिता सञ्चालनको तयारी सुरु भएको छ ।
लामो समय खुदुनारीमा रहेको भुटानी शरणार्थी शिविरमा बसेकी आईतमाया सुब्बा सुहाङ पुनर्स्थापनाका लागि अमेरिका गएकी थिईन् । उनको एकबर्ष अघि निधन भएको थियो ।
उनका छोरा बाबी सुब्बा आमासँगै अमेरिकाको राजधानी न्युयोर्क गएका छन् । खेलकुदमा रुची राख्ने सुब्बाले अमेरिकामै क्लब दर्ता गरेर फुटबलका गतिविधि सञ्चालन गरिरहेका छन् ।
शरणार्थी शिविरमा हुर्किएका उनै सुब्बाको सक्रियतामा अर्जुनधारा नगरपालिका-३ को खुदुनाबारीमा यो प्रतियोगिता आयोजना हुने भएको हो ।
कोशी प्रदेश स्तरीय यो प्रतियोगितामा रेडहर्स फुटबल क्लब इलाम, एपीएफ क्लब पकली, रोलिङ क्लब धुलाबारी, बुट्टाबारी युनाईटेड क्लब झापा, पथरी-११ फुटबल क्लब मोरङ, बेलडाँगी फुटबल क्लब, जलथल फुटबल क्लब झापा र आयोजक च्यारिटी युथ क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ठ डिफेन्स, फरवार्ड, स्ट्राईकर, गोलरक्षक र कोचले जनही ५ हजार पुरस्कार पाउने आयोजक कमिटीका संयोजक सुर्य इम्बुङले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ।