मेलम्ची खानेपानी आयोजनाको लागि ल्याएको सिमेन्ट बजारमा बिक्री

६ असोज, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निमार्णको लागि ल्याएको ३ सय ४० बोरा अर्घाखाँची सिमेन्ट पसलमा बिक्री भएको खुलासा भएको छ ।

गएको असोज २ गते राति ११ बजे ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रक काठमाडौं गोदामबाट सिमेन्ट लोड गरी अम्बाथान स्टोरसम्म पुगेर सिमेन्ट अनलोड नगरी फर्किएको स्रोतको भनाई छ ।

तर सीएमसी कम्पनीका अम्बाथान स्टोर किपर छिरीङ दोर्जे लामाले ३ सय ४० बोरा सिमेन्ट बुझिलिएको लेखि बिलमा छाप लगाएर ३ सय ४० सिमेन्ट नै नझारी ट्रक फर्किएको बताइएको छ । करिब ११ किलोमिटर तल तालामाराङ बजारमा ३ पसलमा सिमेन्ट बिक्री गर्दैगर्दा प्रहरीले पक्राउ गर्न खोज्दा चालक ट्रकसहित फरार भएको प्रहरीले जानकारी दिएको छ ।

बाहुनेपाटीमा रहेको वायर हाउसका म्यानेजर दामोदर बस्यालको संलग्नतामा त्यो सिमेन्ट अन्यत्र बिक्री गर्ने सेटिङ मिलाएको स्थानीयले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुख पर्शुराम मल्लका अनुसार अम्बाथान हेलम्बु सुरुङको बाँध निमार्णको लागि लगिएको सिमेन्ट बजारमा बिक्री गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अहिले ट्रक धनी सम्पर्कमा आइसकेकाले सिमेन्ट कहाँ कति बिक्री भएको र क—कसलाई बिक्री गरिएको हो भन्नेबारेमा अनुसन्धान गर्न सहज हुने उहाँको भनाई छ । तर आयोजनाको ठेगेदार कम्पनी सीएमसीका कर्मचारीले प्रहरी अनुसन्धानले तीव्रता नदिएको गुनासो गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *