नगरकोट जाने पर्यटकलाई दोहोरो मार, दुर्इ नगरपालिकालार्इ छुट्टाछुट्टै पर्यटन शुल्क तिर्नुपर्ने

भक्तपुर – भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीय स्थल नगरकोट जाने बाह्य देशका पर्यटकहरुले अब दोहोरो कर तिर्नु पर्ने भएको छ ।

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा दुवै नगरपालिकाले आ–आफ्नो नगरको तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष ०७४–०७५ मा ५१ लाख रुपैयाँमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो ।

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ को लागि ३ करोड २५ लाखमा  ठेक्का दिएपछि चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकहरुसँग शुल्क लिँदै आएका छन् । जसमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर जाने बाटोमा समेत ठेकेदारले शुल्क उठाईरहेका छन् ।

यता काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि चालू आर्थिक वर्षबाट नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क लिने सूचना जारी गरेको छ । नगरपालिकाको आधिकारिक वेबसाइटमा २०७५ साउन १ गते प्रकाशित सूचनामा २०७५÷०७६ का लागि नगरपालिका अन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यू टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरेको हो ।

सूचनामा बोलपत्र स्विकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकसँग प्रतिव्यक्ति ३ सय र सार्क राष्ट्र भित्रका पर्यटकसँग प्रतिव्यक्ति २ सय रुपैयाँ (कर बाहेक) प्रवेश सेवा शुल्क उठाउन पाउने छन् ।

चाँगुनारायण नगरपालिकाले ठेक्का दिएको ठेकेदारले पनि त्यही दरमा शुल्क उठाइरहेका छन् ।

यसबारेमा नगरप्रमुख मिश्रले दुई नगरपालिकाबीच समन्वय गरेर नगरकोटको विकासमा लाग्ने बताउँदै पर्यटकलाई दोहोरो करको मारमा नपार्ने व्यवस्थाका लागि छलफल गरिने बताउनुभयो ।

मण्डन देउपुरकाे अाफ्नै तर्क 

यता काभ्रेको मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइबाले भूगोलको हिसाबले नगरकोट आउने ८० प्रतिशत पर्यटक काभ्रे मण्डन देउपुर प्रवेश गर्ने बताउँदै नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि दुवै नगरपालिकाले लगानी गर्ने प्रस्ताव चाँगुनारायणले नमानेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘गतवर्ष दुवै नगरपालिकाले एकीकृत कर उठाउने भन्दा एक्लै शुल्क उठाए,  यसवर्ष पनि छलफल गर्न खोज्दा चाँगुनारायणले एक्लै ठेक्का लगायो, त्यसपछि होटल व्याबसायीहरुकै सल्लाहमा हामीले पनि ठेक्का लगायौं ।’

मण्डन देउपुर नगरपालिकाले भने १ करोड ३० लाखमा ठेक्का लगाएको उहाँले जानकारी दिनुभयो ।

तत्कालिन बालुवापाटी देउपुर गाविस अध्यक्ष एवं पर्यटन व्यवसायी राधाकृष्ण बस्ताकोटीले दोहोरो कर लगाउँदा नगरकोटको भविष्य नै अन्यौल हुने बताउँदै दुवै नगरपालिकाबीच समन्वय गरेर एकिकृत कर लगाएर नगरकोटको भौतिक विकासको लागि लगानी गर्नुपर्ने बताउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धन बहादुर लामाले नगरकोट जाने मुख्य सडकको रुपमा रहेको कमलविनायक नगरकोट सडकको अवस्था निकै कष्टकर रहेको बताउँदै दोहोरो पर्यटन शुल्कले पर्यटन व्यावसायीलाई मार पार्ने बताउनुभयो ।

यहाँका व्यवसायीले राज्यलाई कर तिरेपछि सुविधा नपाएको गुनासो गर्दै उहाँले नगरकोटमा फोहोर व्यवस्थापन समेत चुनौती बन्दै गएको अवस्थामा सूर्योदय, सूर्यास्त र हिमाल हेर्न मात्र आउने पर्यटकको बसाई लम्ब्याउने र विकास गर्ने मामिलामा दुवै नगरपालिका मौन रहेको बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *