उर्लाबारीमा मापदण्ड विपरितका क्रसरको दादागिरीले स्थानीयबासी हैरान

१२ माघ, मोरङ । मोरङको उर्लाबारी नगरपालिका १ का चन्द्र भट्टराई मानव वस्तीमै रहेको क्रसर उद्योगका कारण तनावमा छन् । घर आसपासमा ठूलो आवाज त आउँछ नै क्रसरबाट उड्ने धुलोका कारण भट्टराई र उनको परिवार हैन भइसक्यो । क्रसरको ध्वनी प्रदूषणबाट आजित भएका उनको त्यहाँबाट निस्किने धुलो भान्सासम्मै पुग्छ । स्थानीय विज्ञान बड्तौलाको पनि समस्या उही हो । उनको घर क्रसर उद्योगबाट निस्किएको धुलोले ढपक्कै ढाकेको छ । ‘यहाँका क्रसर उद्योगले एकहिसावले दादागिरी नै गरिरहेका छन्,’ उनले भने, ‘हटाएर मानव वस्तीबाट अलि टाढा लैजानका लागि पटक पटक गरिएको आग्रहको सुनुवाई नै छैन ।’

भट्टराई र बड्तौला मात्रै हैन मानव वस्तीकै छेउमा लामो समयदेखि संचालनमा रहेका दुईवटा क्रसर उद्योगले स्थानीय बासिन्दाले हैरानी बेहोर्नु परिरहेको छ । सिंगो वस्ती र विद्यालय समेत जोखिममा परिरहेका छन् । उर्लाबारी १ मा पञ्चेश्वर क्रसर उद्योग र पूर्वेली क्रसर उद्योग लामै समयदेखि संचालनमा छन् । त्यहीं निर्माणाधिन अवस्थामा रहेका अन्य दुईवटा क्रसर उद्योग संचालनको अन्तिम तयारीमा छन् । देवीस्थान मिनिरल्स क्रसर उद्योग र शिद्धार्थ क्रसर उद्योग निर्माणाधिन अवस्थामा रहेका हुन् ।

 

स्थानीय बासिन्दाका अनुसार जनप्रतिनिधि, समाजका प्रतिष्ठित र गुण्डागर्दीको पृष्ठभूमि रहेकाहरुले मापदण्ड मिचेर लामो समयदेखि क्रसर उद्योग संचालन गरिरहेका छन् । जनप्रतिनिधि र गुण्डागर्दीमा संलग्नकै लगानी रहेका कारण क्रसर उद्योग हटाउन पनि कहींबाट सहयोग नमिल्ने गरेको स्थानीयको गुनासो छ । स्थानीयले समस्या भएका कारण क्रसर उद्योग हटाउनका लागि माग गर्दा संचालकहरुले विभिन्न तवरबाट धाकधम्की दिने गरेको गुनासो गरेका छन् । वस्तीबाट टाढा लगेर उद्योगको व्यवस्थापन गर्न स्थानीयले माग गरेको लामै समभइसके पनि जनप्रतिनिधी र क्रसर उद्योग संचालकले भने बेवास्था गर्दै आएका छन् ।

क्रसरका कारण आजित बनेका स्थानीयले वडा कार्यालय, नगरपालिलका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका छन् । तर उजुरीको सुनुवाई नभएपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् । क्रसरका कारण मानव वस्तीसंगै दुईवटा विद्यालय पनि प्रभावित बनेका छन् । सारदा मावि र नुनसरी आधारभूत विद्यालयमा अध्यापन गराउन असहज भएको हो ।

सारदा मावि उर्लाबारीका प्राध्यानाध्यापक सूर्य दाहालका अनुसार क्रसरका कारण विद्यालयको पठन पाठनमा धेरै ठूलो असर गरिरहेको छ । ढुवानीका लागि कुद्ने टिपरका कारण झन ठूलो तनाव बेहोर्नु परेको दाहालको भनाइ छ । स्थानीयका अनुसार क्रसरले खयरबारी, बिहीबारे, चपुरलगायतका वस्तीलाई असर गरिरहेको छ । क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भइरहेको दाहालले बताए । भट्राईले मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसरले समस्या ल्याउन थालेको र हटाउन स्थानीय सरकारले अटेर गरेपछि उच्च अदालत विराटनगरमा रिट दायर गरिएको बताए ।

गोविन्द भट्टराई लगायतको समूहको पूर्वेली क्रसरमा, प्रकाश खड्गी लगायतको समूहको पञ्चेश्वर क्रसरमा, ववि राईको देवीस्थान मिनिरल्स क्रसरमा र उर्लाबारी ५ का वडा सदस्य समेत रहेका सचिन शाक्य लगायतको समूहको शिद्धार्थ क्रसर उद्योगमा लगानी छ । ‘उद्योगमा लगानी गर्नेहरु जनप्रतिनिधि, गुण्डागर्दीमा संलग्न र समाजकै प्रतिष्ठित व्यक्तिहरु छन्,’ एक स्थानीले भने, ‘उनीहरुलाई कसैले छुन चलाउन पनि सक्दैनन् ।’
चारवटै क्रसर उद्योग मापदण्ड विपरित नुनसरी खोला र बक्राह खोलाकै किनारमा र वस्तीसंगै संचालन भईरहेपनि नियमनकारी निकाय भने मौन छ । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यो मापदण्ड मिचेर क्रसर संचालन गरिएका छन् । संचालन भइरहेको र निर्माणाधिन अवस्थाका सबै क्रसर खोला र मानव वस्ती छेउमै छन् ।

राजनीतिक आड र गुण्डागर्दीमा यि क्रसर उद्योगहरु संचालन भइरहेको स्थानीयको भनाइ छ । सिंगो वस्तीनै क्रसर उद्योगको विरोधमा लागे पनि हटाउन भने कसैले चासो दिएको पाइँदैन । उल्टै क्रसरको विरोध गर्नेलाई विभिन्न खालका धम्की आउने गरेको स्थानीयको गुनासो छ । क्रसरबाट उड्ने धुलोका कारण धेरै जना बिरामी नै परिसकेको बड्तौलाको भनाइ छ । क्रसर उद्योगका लागि ढुंगा गिट्टी लिएर आउने टिपर तथा ट्रयाक्टरको दैनिक आवतजावतका कारण सिंगो मानव वस्तीलाई समस्या भइरहेको र सडक समेत विग्रदै गएको उनले बताए ।

‘रातभरी मेसीनको आवाजले सुत्न सकिंदैन । दिनभरी धुलोले बस्न सकिंदैन,’ एक स्थानीयले भने, ‘यस्तो सहेर कति दिन बस्नु । डर र त्रासकै कारण स्थानीयले खुलेर क्रसर उद्योगको विरोध पनि गर्न सकिरहेका छैनन् ।’ उनले धुलोका कारण स्वास फेर्न पनि समस्या भइरहेको बताए । स्थानीयका अनुसार सञ्चालनमा रहेको पञ्चेश्वर क्रसरका कारण नुनसरी खोलाको धार नै परिवर्तन गरी नहर जस्तो बनाई दिएको छ । क्रसर संचालकले सुरुमा ढुंगा गिट्टी मात्र छान्ने बताए पनि अहिले आएर ढुँगा पिस्ने मेसिन समेत संचालन गरिरहेको स्थानीयबासीको गुनासो छ ।

स्थानीयले नगरपालिका कार्यालयमा उजुरी दिएपछि भने संचालकले क्रसर संचालन नभई प्लटिङका लागि माटो पुर्ने मात्र भनी सहमति गरेका थिए । तर अहिले धमाधम क्रसर संचालन र स्थापनाको काम भइरहेको छ । पञ्चेश्वर क्रसर उद्योग छेउमै जनप्रतिनिधि शाक्यको क्रसर स्थापनाका लागि काम भइरहेको छ । ह्युम पाइप तथा कल्भर्ट निर्माण गर्ने भन्दै क्रसर उद्योग सञ्चालनको तयारी भइरहेको हो ।

पुस १९ गते स्थानीय नुननसरी आधारभूत विद्यालयमा भएको अभिभावकको भेलाले सञ्चालन भइरहेको उर्लाबारी–१ स्थित पञ्चेश्वर क्रसर उद्योग, देवीस्थान मिनिरल्स क्रसर उद्योग र सिद्धार्थ क्रसर उद्योगले विद्यालयलाई असर पु¥याएको भन्दै बन्द गर्न सम्बन्धित निकायमा निवेदन समेत दिएको छ । विद्यालयका प्रधानाध्यापक भोलानाथ निरौलाले स्वतःस्फुर्त रुपमा अभिभावक बसेर निर्णय गरिएको जानकारी दिए । यो निर्णय पछि आफू समेत त्रसित भएर बसिरहनु परेको उनको भनाइ छ ।

समाजका बोलवाला र नगरमा समेत प्रत्यक्ष प्रभाव राख्नेहरुले उद्योग संचालन गरिरहेकोले भोली आफू र विद्यालयमाथि असर पर्ने हो कि भन्ने चिन्ता बढेको निरौलाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार क्रसर उद्योगको बारेमा स्थानीयले खुलेर विरोध गर्ने अवस्था समेत छैन । गुण्डागर्दी र समाजमा अराजकता मच्चाईरहेकाहरुको साथ लिएर उद्योग संञ्चालन भएको भन्दै स्थानीय भोलीका दिनमा आफूहरुमाथि केही पो गरिहाल्ने हुन् कि भन्ने चिन्तामा छन् ।

क्रसर उद्योग संचालनका लागि स्थानीय तहले समेत सर्वसाधारणको गुनासोलाई बेवास्ता गर्दै सिफारिस दिइरहेका छन् । क्रसर उद्योग संचालनको लागि माथिल्लो निकाय बाटै लाइसेन्स बनाएर सञ्चालकहरु आउने गर्छन । अनुमती दिने निकायले विना अनुगमन हचुवाका भरमा स्विकृति दिने गरेको पाइएको उर्लाबारीका एक जनप्रतिनिधिले बताए ।

रातारात मावा, बक्राह तथा नुनसरी खोलाको ढुंगा, गिट्टी तथा बालुवा दोहन भइरहे पनि स्थानीय तहले कुनै कारवाही गर्न सकेको छैन । राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाई टेन्सन लाईनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा उद्योग रहनुपर्ने सरकारी मापदण्ड छ । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा दुई किलोमिटर टर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहे पनि खोला किनार र वस्तीको छेउमै खुल्लेआम उद्योग संचालन भइरहेका हुन् ।

क्रसरका संचालक मध्येका गोविन्द भट्राईले व्यस्त रहेको भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् । अन्य संचालकसंग भने सम्पर्क हुन सकेन । उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी स्थानीयले क्रसरका बारेमा लिखित उजुरी गरेको बताइन । क्रसरका कारण स्थानीय प्रभावित भएको बताउँदै उनले मेयर खड्ग फागोले चासो नदेखाउँदा आवश्यक कारवाही गर्न असहज भएको जानकारी दिइन । मेयर फागोसंग भने सम्पर्क हुन सकेन । साभार – पूर्वेली न्युज डटकमबाट 

Leave a comment

Your email address will not be published. Required fields are marked *