जोगवनीको लागुऔषध काठमाडौंमा खपत : विराटनगर आएका दुई युवा पक्राउ

२९ माघ, विराटनगर । लागुऔषध ओसारपसारका लागि काठमाडौंबाट विराटनगर आएका दुई युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषधको खपत काठमाडौंसम्म हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं कलंकी डेरा गरी बस्दै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का २७ वर्षीय विशुनप्रताप साह र सिन्धुलीको मरिण गाउँपालिका –४ का २४ वर्षीय सुरेश माझीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले पक्रेको हो ।

केही दिनअघि विराटनगर आएका उनीहरुले आइतबार भारतीय बजार जोगवनी पुगेर ३ हजार थान नाइट्रोन ट्याब्लेट खरिद गरेको प्रहरीको दाबी छ । खरिद गरेको लागुऔषध भरियामार्फत विराटनगरसम्म ल्याएका माझी र साहलाई लागुऔषध बुझेर काठमाडौं जानै लाग्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागुऔषध प्रयोगकर्ता समेत रहेका उनीहरु काठमाडौंमा लागुऔषध कारोबार पनि गर्दै आएको प्रहरीको दाबी छ । कलंकी डेरा गरी बसेर लागुऔषध कारोबार गरिरहेका दुई जनालाई प्रहरीले निगरानीमा राखेको थियो ।

‘काठमाडौंदेखि लागुऔषध लिनकै लागि विराटनगर आएर जोगबनीसम्म पुगेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले भने, ‘उनीहरु विराटनगर आउनुपर्ने अरु कुनै कारण देखिँदैन ।’

प्रहरीका अनुसार सीमामा पक्राउ पर्ने डरले भरियालाई लागुऔषध बोकाएर उनीहरु खाली हात फर्किएका थिए । विराटनगर आएदेखि निगरानी गरेको प्रहरीले भरियाबाट लागुऔषध बुझेर विराटनगर बाहिर जानै लाग्दा पक्राउ गरेको हो ।

जोगवनीबाट भरियामार्फत ल्याएको लागुऔषध काठमाडौंसम्म पुर्‍याउन खोजिएको डीएसपी श्रेष्ठले बताए ।

लागुऔषधसहित पक्राउ परेका दुई जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *