कर्मचारीको मस्ती जनतालाई सास्ती,नगरलाई थाहै नदिइ भ्रमण

शिवसताक्षी । सरकारी कार्यालयको कामकाज लठीभद्र पारेर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएको खुलेको छ । जसका कारण सेवाग्राहीले शुक्रवार सेवा लिनबाट बञ्चित हुनुप¥यो ।

सेवाग्राहीले सेवा नपाएपछि शिवसताक्षी नगरपालिका–९का अध्यक्षसहित कर्मचारीले काम लठीभद्र छाडेर ‘रिल्याक्स’मा गएको खुलेको हो । तर, जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएको नगरपालिकालाई भने थाह नै नभएको बताइन्छ ।

शिवसताक्षी नगरपालिका–९का वडाअध्यक्ष छविलाल पाठक, सचिव निशा कोइराला लगायतका कर्मचारी तेह्रथुमको तीनजुरे भ्रमणका लागि गएका हुन् । अध्यक्षसहित कर्मचारी भ्रमणमा गएपछि कार्यालयमा कर्मचारी नहुँदा पञ्जीकृतका सबै काम ठप्प भए भने जनप्रतिनिधि नहुँदा नागरिता सिफारिस, नाता प्रमाणित लगायत अन्य सिफारिसका कुनै पनि काम हुन सकेनन् ।

यता नगरकै वडा नम्वर–११का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ सहित सचिव नन्दीकेशर भट्टराई लगायतका जनप्रतिनिधि र कर्मचारी समेत तीनजुरे घुम्न गएको पाइएको छ । यस विषयमा वडा नम्वर ११का वडासचिव भट्टराईसँग सम्पर्क राख्दा उनले आफू काम विशेषले धरान गएको भन्दै बचावट गरेका छन् ।

यता प्रत्यक्षदर्शीले भने वडा सचिव भट्टराई कार्यालयमा बिहानै आएर वडाध्यक्ष लगायतका कर्मचारी र जनप्रतिनिधि लिएर तीनजुरे घुम्न गएको बताएका छन् । शिवसताक्षी नगरपालिका–११मा शुक्रवार एक जना खरदार सुरेन्द्र अर्याल मात्र कार्यालयमा भेटिए । उनी असिन–पसिन हुँदै दुवै वडावाट संकलन हुने कर असुली गरिरहेका थिए । वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी नहँुदा शुक्रबार २० जनाभन्दा वढी सेवाग्राहीले सेवा लिन नसकेको बताइन्छ ।

पाँचथरबाट जग्गापासको सिफारिस लिन आएका खड्गध्वज आङ्थोवूले वडाध्यक्ष नभएकै कारण सेवा लिन नपाएको गुनासो गरे । उनले भने– ‘यो भन्दा चरम लापर्वाही के हुन्छ ?’ कुनै कार्यालय बन्द हुँदा वा गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ । तर, बिना सूचना कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ, यसको क्षति कसले व्यहोर्ने ?’ उनले प्रश्न गरे ।

विदेश जानका लागि दाजुसँग नाता प्रमाणित गर्न ११ नम्वर वडा कार्यालयमा विहान १० बजे पुगेका अमित विक दिउँसो २ बजे रित्तोहात घर फकिए । उनलाई २ बजेसम्म वडाध्यक्ष र वडा सचिव कार्यालय नआउने कसैले जानकारी दिएन । उनले भने– ‘बेलैमा जानकारी दिएको भए म जस्तो मजदुरको बेलुकाको पेट त खाली हुने थिएन ।’ विक मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका मजदुर हुन् ।

भ्रमणका विषयमा शिवसताक्षी–९ र ११का वडाध्यक्षले नगरपालिकालाई जानकारी नै नदिएको नगरका प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी बताउँछन् । उनी भन्छन्– वडा नम्बर ९की सचिव निशा दिनभर कार्यालयमा रहेको आफूलाई जानकारी छ तर, अन्य जनप्रतिनिधि र कर्मचारीको विषयमा आफूलाई थाह छैन । – Purbanchaldailly

Leave a comment

Your email address will not be published. Required fields are marked *