वाइडबडीबारे फेरि बोले प्रधानमन्त्री ! छानविन हुँदैछ, धेरै के भनौं !

१ असार, काठमाडौं । वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि मुख खोलेका छन् ।

यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बताएका थिए । छानविन हुँदै गरेको विषयमा प्रधानमन्त्रीले कसैलाई दोषी वा निर्दोष किटान गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो ।

यसै सन्दर्भमा युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा आइतबार पत्रकारले वाइडबडीबारे टुच्च प्रश्न सोधिहाले । जवाफमा उनले कसैलाई दोषी वा निर्दोष भनेनन्, बरु छानबिन भइरहेको विषयमा आफूले नबोल्ने बताउँदै सन्तुलित हुने कोसिस गरे ।

‘वाइडबडी चैं छानबिन हुँदैछ । छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ?’ प्रधानमन्त्री ओलीले भने, ‘गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदैछ । तर, मैले परिणाम नआइकन कसैका बारेमा भन्न मिल्दैन ।’

प्रधानमन्त्रीले थपे, ‘छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ ।’

‘हाम्रा जहाज यरोपियन आकाशमा उड्नेछन्’

फ्रान्सले आफ्नो आकाशमा नेपाली विमानलाई उड्न प्रतिबन्ध लगाएको धेरै समय बितिसकेको छ । यसअघि डाबोस गएका बेला प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डबाटै फ्रान्सलाई प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर त्यही विमान उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित नहुने प्रधानमन्त्री ओलीको तर्क थियो ।

यसपटक फ्रान्सको औपचारिक भ्रमणमा भएका बेला प्रधानमन्त्री ओली यो प्रतिबन्ध फुकाएर फुकाउने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्रीको भ्रमणमा यसबारेमा फ्रान्ससँग कुराकानीसम्म भएता पनि कुनै औपचारिक सहमति भएन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *