इलाममा एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुँदै
इलाम सदरमुकामको ठूलो टुँडिखेलमा यही माघ ६ देखि १३ सम्म आयोजना गरिने ‘एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको सबैजसो तयारी पूरा भएको र केही छिटफुटमात्रै बाँकी रहेको आयोजकले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालका सात र बाहिरको एक गरी आठ टिमबीच प्रतिस्पर्धा हुने भए को छ । आयोजक रेडहर्स फुटबल क्लबका अनुसार आयोजक रेडहर्स, काठमाडौंको एनआरटी, सर्लाहीको बागमती, इटहरीको राष्ट्रिय जागृति, झापाको बिर्तामोड युनाइटेड, बुटवलको लुम्बिनी, पाँचथर र भारत दार्जिलिङको एमएफसीबीच प्रतिस्पर्धा हुने टुंगो भएको छ ।प्रतियोगिताको सबैजसो तयारी सकिएको एन्फा पूर्वकेन्द्रीय सदस्यसमेत रहेका आयोजक समिति सदस्य निरोज खड्गीले बताए । उनका अनुसार खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माण, मैदानको तल्लो भागमा पर्खाल लगाएर सम्याउने, मैदान अझ सजिलो बनाउने काम, स्टेजलगायत सबै तयारी पूरा भएको हो ।
प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । आयोजक क्लबका सचिव प्रकाश घिमिरेले अहिलेसम्म मैदान, प्यारापिट र अन्य तयारीमा २५ लाख रुपैयाँ हाराहारी खर्च भइसकेको बताए । ‘प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गर्ने भएको छ,’ उनले भने, ‘इलाम नगरपालिका, अन्य संघ–संस्था र व्यक्तिले पनि प्रतियोगितालाई सहयोग गरिरहनुभएको छ ।’ उनका अनुसार गेट मनी (दर्शकबाट मैदान गेटमा उठ्ने रकम) सबैभन्दा बढी हुने आशा आयोजकको छ ।
खेल अवलोकन गर्न अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । ६ गते हुने उद्घाटन समारोहमा भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक याम बरालसमेतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।