‘एनआरएनए इलाम गोल्डकप’को उपाधि एनआरटीलाई
न्युरोड टिम (एनआरटी)ले पहिलो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि उचालेको छ ।
आज (शनिबार) भएको फाइनलमा एनआरटीले ४–३ गोलान्तरले झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । पेनाल्टीमा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे । एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए ।
बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे । झापाका प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपरले बचाए । झापाले उपविजेतामा चित्त बुझाएको छ ।बिर्तामोड टिमका हिसुब थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए । आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेंलो कार्ड पाए ।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाए ।
रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो । प्रतियोगितामा आठ टिम सहभागी थिए ।