आइसिसी विश्वकप लिग–२ मा नेपालको पहिलो जित

नेपालले शनिबार बलियो टोली नेदरल्याण्ड्समाथि ९ विकेटको रबाफिलो जित निकाल्दै आइसिसी विश्वकप लिग–२ मा पहिलो जित निकालेको छ।

स्पिनरको साथ पाएपछि नेपालले नेदरल्याण्ड्समाथि यादगार जितसँगै घरेलु मैदानमा जारी लिग–२ मा पहिलो जित आत्मसात् गर्‍यो। गत बिहीबार नामिबियासँग चार विकेटको हारबाट नेपालले विश्वकप लिग–२ को दोस्रो संस्करण सुरुवात गरेको थियो।तर त्रिदेशीय श्रृंखलाको दोस्रो खेलमा स्पिनर चम्किएपछि नेपालले डच टोलीलाई पनि हारबाट सुरुवात गर्न बाध्य बनायो।

पार्ट टाइमर स्पिनर कुशल भुर्तेलले चार विकेट, स्पिनर द्वय ललितनारायण राजवंशीले दुई तथा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए। घरेलु टोलीको उत्कृष्ट बलिङसामु डच टोली ३९ औं ओभरमा १३७ रनमै समेटियो। जवाफमा नेपालले १५।२ ओभरमै मात्र एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। ओपनर आसिफ सेख र अनिल साहले अर्धशतक पूरा गर्दै सहज जित दिलाए।

अनिलले ५७ रन र आसिफले ५४ रन जोडे। यी दुईले दोस्रो विकेटका लागि एक सय पाँच रनको साझेदारी गरे। आसिफले ४५ बलमा आठ चौका र एक छक्का गरे। अनिलले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ गरे।लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका अनिलले पछिल्ला दुई हप्तामा दोस्रो अर्धशतक बनाए। क्यानडासँगको श्रृंखलामा उनले एक शतक र अर्धशतक बनाएका थिए।

नामिबियासँग अनिल र आसिफ दोहोरो अकंमा रन जोड्न असफल रहे। दुवैले डच टोलीविरुद्ध भने उत्कृष्ट ब्याटिङ गर्दै लय समाते। अर्का ओपनर कुशल भुर्तेलको आक्रामक ब्याटिङसँगै नेपालले राम्रो सुरुवात पायो। भिभियन किङ्माले कुशललाई २८ रनमा आउट गरे। यद्यपि उनी आउट हुँदा नेपालले २।५ ओभरमै ३६ रन जोड्यो।

११ बलमा कुशलले दुई चौका र तीन छक्का प्रहार गरे। डच बलरले नेपाली ब्याटरलाई खासै चुनौती दिन सकेनन्। कप्तान स्कट एडवार्डले प्रयोग गरेका सबै बलर महँगा सावित भए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स सुरुदेखि नै दबाबमा रह्यो। खाता नखोल्दै ओपनर गुमाएको नेदरल्याण्ड्स ३९ औं ओभरमा १३७ रनमा नै अलआउट भयो। ओपनर द्वय मिकाइल लेभिटले शून्यमा र म्याक्स ओ डोउड १० रनमा आउट भए। तीव्र गतिका बलर सोमपाल कामीले इनिङको तेस्रो बलमा लेभिटलाई देव खनालबाट क्याच गराउँदै राम्रो सुरुवात दिलाए।

छैटौं ओभरमा म्याक्स भीम सार्कीद्वारा रनआउट भए। ५।६ ओभरमा नेदरल्याण्ड्स १८र२ को नाजुक अवस्थामा पुग्यो। स्पिनर ललितनारायण राजवंशीले कसिलो बलिङ गर्दै थप दबाब बनाए। उनले तेस्रो र चौथो विकेट लिए।सिब्रान्ड एंगलब्रेक्ट २३ रनमा र बास डी लिडेमा २७ रनमा आउट भए। त्यससँगै १९।२ ओभरमा डच टोली ६७/४ को अवस्थामा पुग्यो। तर कप्तान स्कटले इनिङ सम्हाल्ने प्रयास गरे। उनले पाँचौं विकेटका नोअ क्रोससँग ३० रनको साझेदारी गरे। उत्कृष्ट फिल्डिङ गरेको नेपालले दोस्रो रनआउट गरायो।

कुशल मल्लले क्रोसलाई १२ रनमा रनआउट गरेसँगै डच टोली ९७र५ को अवस्थामा पुग्यो। थप चार रन जोड्दा डच टोलीले दुई विकेट गुमायो। कुशल भुर्तेलले वेस्ले बेरेसीलाई शून्यमा नै पभेलियन फर्काए। लगत्तै कप्तान रोहितकुमार पौडेलले सरिज अहमलाई १ रनमै आउट गरे।त्यसपछि कुशलले लगातार दबाब बनाए। उनले आर्यन दत्तलाई १० रन र कप्तान स्कटलाई ३३ रनमा पभेलियन फर्काउँदै ठूलो सफलता दिलाए। दसौँ विकेट पनि उनकै नाममा रह्यो।

कुशलले भिभियनलाई २ रनमा विकेटकिपर आसिफद्वारा क्याच गराए। उनले सात ओभरमा २० रन खर्चँदै चार विकेट लिए। अलराउण्ड प्रदर्शन गरेका कुशल म्यान अफ दी म्याचसमेत भए। स्पिनर ललितनारायणले १० ओभरमा ३२ रन र कुशल मल्लले सात ओभरमा एक मेडनसहित १९ रन मात्रै खर्चिँदै किफायती बलिङ गरे। उनले अब तेस्रो खेल नामिबियासँग आगामी बुधबार खेल्नेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *