छैटौँ झापा गोल्डकपः एपिएफको विजयी सुरुवात, संकटा टाइब्रेकरमा पराजित

१९ फागुन, बिर्तामोड । संकटा फुटबल क्लवलाई हराउदै सशस्त्र प्रहरीको एपिएफ क्लव छैटौँ झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आजदेखी सुरु भएको प्रतियोतिगाको उद्घाटन खेलमा एफिएफले संकटालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समय गोल रहित बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो ।

टाइब्रेकरमा संकटालाई ४। २ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा एपिएफका दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारले गोल गर्दा अजित लामा र मौसम सुब्बाको प्रहार गोल हुनबाट चुक्यो ।

खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए । आइतबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच हुनेछ। सभामुख देवराज घिमिरेले उद्घाटन गरेको गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् ।

यति ब्रुअरी मुख्य प्रायोजक एवं अन्तर्राष्ट्रिय झापाली समाज सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुने आयोजना झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

मोफसलको सर्भाधिक चर्चित फुटबल प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ हात पार्ने छ भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *