खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव मूल आयोजक समिति गठन
बैशाख ११, खोटाङ । खोटाङको दिक्तेलमा आउँदो वैशाख ३१ गतेदेखि शुरु हुने बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवका लागि मूल आयोजक समारोह समिति गठन भएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म दिक्तेलमा हुने महोत्सव सम्पन्न गर्नका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मूल आयोजक समारोह समिति गठन भएको हो ।
मूल आयोजक समारोह समितिको सदस्य सचिवमा नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई रहनुभएको छ । महोत्सवका लागि नौ वटा उपसमिति गठन भएको छ । नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन भएको छ ।
यस्तै जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसी संयोजक, वरिष्ठ कराँते प्रशिक्षक बिचारी तामाङ सह–संयोजक र फुटबल भलिबल प्रशिक्षक सागर राई सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाको संयोजकत्वमा सांस्कृतिक झाँकी व्यवस्थापन उपसमिति गठन भएको छ ।
यसैगरी स्वास्थ्य कार्यालय खोटाङको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, सोनामहाङ राईको संयोजकत्वमा ध्वनि व्यवस्थापन उपसमिति, तेक्वान्दो प्रशिक्षक मोहन राईको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति तथा दीपक श्रेष्ठ र मिलन कसजु रहेको सचिवालय व्यवस्थापन उपसमिति गठन भएको छ ।
अर्को बैठकबाट उपहार तथा मायाको चिनो, सम्मान–पत्र, ताम्रपत्र, कदरपत्र डिजाइन, ट्रफी, पदक र प्रमाणपत्र, ब्यानर तथा पम्प्लेट निर्माण, थप समन्वय र सहकार्य गर्नका लागि उपसमिति गठन गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिनुभयो । महोत्सव अन्तर्गत एथ्लेटिक्स (हाफ म्याराथन तथा अन्य दौड), राष्ट्रिय कविता प्रतियोगिता र १८ वर्षमुनिको खुला गायन, खुला राष्ट्रिय कराँते प्रतियोगिता हुनेछ ।